७ दिनदेखि २ सय ५० फीट गहिरो खाडलमा २ वर्षीय बालक: निकाल्ने प्रयास जारी

 माघ ६, २०७५ आइतबार १५:२१:२५ | एजेन्सी
unn.prixa.net

केही समय पहिले थाइल्याण्डका फुटबल खेलाडीहरु गुफामा फसेको घटनाले पुरै विश्व स्तब्ध भएको थियो । त्यस्तै प्रकारको एउटा घटना फेरि दोहोरिएको छ । दुई वर्षका बालक २ सय ५० फीट गहिरो खाडलमा फसेको घटनाले अहिले विश्वभरिको ध्यान खिचेको छ ।

स्पेनको मालागा भन्ने पहाडी क्षेत्रका ती बालक एक हप्तादेखि २ सय ५० फीट गहिरो खाडलमा फसेका हुन् । उनलाई त्यो खाडलबाट निकाल्नको लागि अत्याधुनिक मेसिनको प्रयोग गरिएको छ । मेसिनले खनेर ती बच्चालाई खाडलबाट निकाल्ने प्रयास भइरहेको छ ।

जुलेन रोसेलो नाम गरेका ती बालक घरबाट हराएका थिए । उनी खाना पकाइरहेका आफ्ना बुवासँगै किचेनमा थिए । रोसेलो खेल्दै बाहिर आएको उनका बुवाले कुनै चाल पाएनन् ।  रोसेलाेलाई नदेखेपछि परिवारका मान्छे आत्तिएर यता-उता खोज्दा कहीँ पनि भेटिएनन् । पछि उनी नजिकैको खाडलमा खसेका रहेछन् भन्ने थाहा भयो। यो अघिल्लो आइतबारको घटना हो ।

सुरुङ्ग खनेर उनलाई बचाउन खोजिएको थियो तर पहिलो प्रयास असफल भयो । त्यसपछि उद्धारमा खटिएको उद्धार टाेलीले अर्को सरुङ्ग खन्न थाल्यो । स्थानीय समाचारका अनुसार जनवरी २० अर्थात आजै ती बालकसम्म पुग्न सकिने अनुमान गरिएको छ ।

अहिलेसम्म बालकसँग भने कुनैपनि सम्पर्क भएको छैन । त्यस ठाउँमा कपाल भेटिएकाे र डीएनए परीक्षणबाट त्यो कपाल तिनै बालकको हो भन्ने पुष्टि भएको छ । ठाडो सुरुङ्ग खनिसकेपछि उद्धारकर्तालाई सुरुङ्गमा पठाइनेछ र उनीहरुले हातैले फेरि १३ फीट लामो अर्को सुरुङ्ग निर्माण गर्नुपर्नेछ । त्यसपछि मात्र ती बच्चासम्म पुग्नसकिने त्यहाँको एक समाचार स्रोतले जनाएको छ ।

अहिले विश्वका विभिन्न ठाउँबाट मानिसहरु ती बच्चाको उद्धारको लागि प्रार्थना गरिरहेका छन् ।  


 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया