अाेडीअार्इमा इंग्ल्याण्डकाे सर्वाधिक रन र सर्वाधिक अन्तरकाे जितकाे कीर्तिमान

 असार ६, २०७५ बुधबार १०:५९:४४ | उज्यालो सहकर्मी

अष्ट्रेलियाविरुद्धको पाँच एकदिवसीय श्रृंखला इंग्ल्याण्डले जितेको छ ।

मंगलबार भएको तेस्रो एकदिवसीय प्रतियोगितामा कीर्तिमानी जितका साथ इंग्ल्याण्डले श्रृंखला कब्जा गरेको हो ।

यसअघिका दुई खेलमा जित हासिल गरेको घरेलु टोली इंग्ल्याण्डले मंगलबार नटिंघममा २४२ रनको कीर्तिमानी जित हासिल गरेको हो । 

२४२ रनको फराकिलाे अनेतर आफैंमा कीर्तिमान हो । इंग्ल्याण्डले एकदिवसीय क्रिकेटमा र अष्ट्रेलियाविरुद्ध रनतर्फ सबैभन्दा ठूलो अन्तरको जित निकालेको हो ।


 
४८२ रनको कीर्तिमानी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभरमा २३९ रनमै अल आउट भएपछि इंग्ल्याण्डको कीर्तिमानी जित सम्भव भएको हो । 

अष्ट्रेलियाका लागि ट्राभिस हेडले ५१ र मार्कस स्टोइनिसले ४४ रन बनाए पनि अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् ।

बलिंगतर्फ इंग्ल्याण्डका अदिल रशिदले ४ विकेट लिँदा मोइन अलीले ३ तथा डेभिड विल्लीले २ विकेट लिए ।
 
यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर ४८१ रनको योगफल बनायो । यो योगफल एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक हो ।
 
यसअघि सर्वाधिक योगफल पनि इंग्ल्याण्डकै नाममा थियो । उसले सन् २०१६ को अगष्टमा यही मैदानमा पाकिस्तानविरुद्ध ४४४ रनको कीर्तिमानी योगफल बनाएको थियो ।
 
मंगलबार रनको कीर्तिमान बनाउने क्रममा इंग्ल्याण्डका दुई ब्याट्सम्यानहरु जोनी बेरस्टो र एलेक्स हेल्सले शानदार शतकीय पारी खेले । 

दुवैले समान ९२ बल खेल्दा बेरस्टोले १५ चौका र ५ छक्काको साथमा १३९ तथा हेल्सले १६ चौका र ५ छक्काको साथमा १४७ रन प्रहार गरेका थिए ।
 
ओपनर बेरस्टोले जेसन रोयसँग मिलेर पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए ।
 
रोय ८२ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका एलेक्स हेल्सले बेरस्टोसँग मिलेर १५१ रनको साझेदारी गरेका थिए । 

इंग्ल्याण्डका कप्तान ओइन मोर्गनले पनि ६७ रनको अर्धशतकीय पारी खेले ।
 
बलिंगतर्फ अष्ट्रेलियाका एभन रिचर्डसनले ३ विकेट लिए ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया