द्वन्द्वकालका मुद्दा समाधान गर्न स्थापना भएका आयोगको म्याद थपियो

 माघ २०, २०७५ आइतबार १५:३२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपिएको छ । 

राष्ट्रियसभाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोश्रो संशोधन) विधेयक २०७५ सर्वसम्मति पारित गरेसँगै यसको म्याद थप भएको हो ।  

यससम्बन्धी विधेयक पारित गर्न राष्टिय सभाको आजै तीन वटा बैठक बस्यो । समय अभावको कारण देखाउदै नियम निलम्बन गरेर विधेयकलाई आज पारित गरिएको हो । 

सरकारको तर्फबाट पहिलो बैठकमा टेबल भएको विधेयकलाई नियम निलम्बन गरेर आजै बसेको तेश्रो बैठकले सर्वसम्मति पारित गरेको हो । विधेयकमा संशोधनको सूचनामा रहेको ७२ घण्टाको प्रावधानलाई नियम निलम्बन गरि १ घण्टामा झारिएको थियो ।  

विधेयकमाथि कुनै पनि संशोधन प्रस्ताव नपरेपछि तेश्रो बैठकले विधेयक सर्वसम्मत रुपले पारित गरेको हो । विधेयकमा २०७५ चैत्र मसान्तभित्र काम सक्ने गरी वर्तमान पदाधिकारीलाई समय दिएको छ । 

थप गरिएको समयमा पनि काम नसकिए आयोगका पदाधिकारीको म्याद सकिने तर आयोग जीवितै राख्ने प्रावधान संशोधित विधेयकमा छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद यही माघ २६ गतेसम्मका लागि मात्रै थियो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया