अमेरिकाविरुद्ध प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिनु गलत : नेपाली कांग्रेस

 माघ २०, २०७५ आइतबार १५:५९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अमेरिकाविरुद्ध सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको सार्वजनिक अभिव्यक्ति गलत भएको निष्कर्ष निकालेको छ । 

नेपाली कांग्रेस संसदीय दलको आइतबार सिंहदरबारमा बसेको बैठकले अध्यक्ष दाहालले राष्ट्रिय स्वार्थ र जनताको हितमा अनुदान सहायता उपलब्ध गराउँदै आएको पुरानो मित्रराष्ट्र अमेरिकाको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिनु गलत भएको निष्कर्ष निकालेको हो । 

अध्यक्ष दाहालले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अमेरिकाको विरोध गर्दै विज्ञप्ति जारी गर्नु भएको थियो । त्यसप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आपत्ति छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले अमेरिकाजस्तो मुलुकको राष्ट्रिय स्वार्थ र जनताको हितका लागि अनुदान सहायता दिँदै आएको मुलुकको विरोध सत्तारुढ दलकै अध्यक्षबाट हुनु दूर्भाग्यपूर्ण भएको निष्कर्ष निकाल्दै आउने दिनमा त्यसो नगर्न पनि सत्तारुढ दल नेकपा र सरकारलाई पार्टी संसदीय दलको बैठकले सचेत गराएको पनि जानकारी दिनुभयो ।

बैठकले डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्न सरकारलाई दबाब दिन सडक आन्दोलनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । सदनमा पनि त्यससम्बन्धमा कुरा उठाउने तथा जनता र पार्टीका कार्यकर्तामार्फत् सो माग सम्बोधनका लागि सरकारलाई दवाव दिन सडक आन्दोलनलाई पनि जारी राख्ने निर्णय गरिएको पार्टीका प्रवक्ता खाँडले बताउनु भयो । काँग्रेसले सोमबार(भोली) सरकारविरुद्ध देशभर आन्दोलन गर्दैछ ।

आन्दोलनमार्फत् जनताको सरोकारका विषयलाई सम्बोधन गर्न सरकारलाई दबाब दिने निर्णय पनि गरिएको प्रमुख सचेतक खाँडले बताउनुभयो ।

नेपाली कांग्रेसले सरकारले आफ्नो गल्ती सच्याउँदै गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्र सरकारकै मातहत ल्याउने निर्णय गर्न बाध्य भएको पनि स्पष्ट  पारेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया