‘आयो भैरव’ बनाउँदै निखिल उप्रेती, दक्षिण भारतबाट निर्देशन सहयाेगी मगाउने तयारी

 माघ २२, २०७५ मंगलबार १७:४४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

एक समयका चर्चित एक्शन अभिनेता निखिल उप्रेती यतिबेला चलचित्र निर्माण गरिरहेका छन् । 

उनी बाहिरी ब्यानरका चलचित्रहरुमा नदेखिएको लामै समय भयो । तर पनि चलचित्रको पर्दाबाट हराएका भने छैनन् । उनले निर्माण गरेका पछिल्ला चलचित्रहरुलाई दर्शकले अपेक्षाकृत साथ भने दिएका छैनन् ।

रुद्र, पिंजडा ब्याक अगेन, भिलेनलगायतका चलचित्रहरुमा उनको अभिनय छ, तर उक्तहरुलाई दर्शकले अपेक्षाकृत साथ दिन सकेनन् । अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि उनी करिब ५ वर्ष चलचित्र क्षेत्रबाट हराएका थिए । 

लगातार चलचित्रबाट पाएको असफलतालाई बिर्सिएर उनी फेरि चलचित्र निर्माणमा लाग्ने भएका छन् । उनी चलचित्र ‘भैरव’को सिक्वेल निर्माण गर्ने तयारीमा रहेको बताइएको छ । 

सुरुवातमा त्यस चलचित्रको नाम ‘भैरव २’ राख्ने बताइएको थियो तर अहिले परिवर्तन  भएर ‘आयो भैरव’हुने भएको छ ।

चलचित्र ‘आयो भैरव’का लागि निखिल आफैले कथा लेखिरहेको बताइएको छ । चलचित्रको निर्माण तथा निर्देशन पनि निखिल स्वयंको रहने बताइएको छ । तर उनलाई निर्देशनमा सहयोग गर्नका निम्ति दक्षिण भारतीय चलचित्र क्षेत्रबाट एकजना निर्देशक झिकाउन लागेको बताइएको छ । 

चलचित्रमा रहने कलाकारहरु पक्का भइनसकेको बताइएको छ । चलचित्रको कथा लेखनको काम सकिएपछि कथा अनुसारको पात्र छनोट गर्ने निखिलको तयारी छ । 
तर एउटा मुख्य भूमिकामा भने निखिल आफै देखिनेछन् । उनले चलचित्रको अर्को मुख्य कलाकारमा आफ्नै श्रीमती सन्चिता पनि हुनसक्ने बताएका छन् ।
‘यदि चलचित्रको कथाले सन्चितालाई माग्छ भने त्यो असम्भव छैन । हामीले राम्रो चलचित्र निर्माण गर्ने हो र त्यसका निम्ति कथा अनुसारको पात्रले महत्वपूर्ण भुमिका खेल्छ,’ निखिलले भने । 

चलचित्र‘आयो भैरव’मा राजधानीमा हुने आपराधिक घटना देखाउन लागिएको बताइएको छ । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया