मौसम सफा नहुँदा तुम्लिङ्गटार विमानस्थलमा तीन दिनदेखि जहाज आउन सकेन

 माघ २६, २०७५ शनिबार १६:५:३० | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको एकमात्र तुम्लिङ्गटार विमानस्थलमा प्रतिकुल मौसमका कारण तीन दिनदेखि जहाज आउन सकेको छैन । 

बाक्लो हुस्सु र पानी परेका कारण ‘भिजिबिलिटी’ राम्राे नभएकाे भन्दै जहाजले उडान गर्न नसकेको तुम्लिङटारबाट बुद्ध एयरका कर्मचारी राजीव पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार, मौसम खुलेपछि मात्रै जहाजका नियमित उडान हुनेछन् ।

पुस र माघ महिनामा बेला–बेला लाग्ने बाक्लो हुस्सु र माघे झरीको कारण जहाजले नियमित उडान गर्न सक्दैनन् । जिल्लाको एकमात्र तुम्लिङटार विमानस्थलमा नियमित उडान नहुँदा छिमेकी जिल्ला भोजपुरका समेत आधा भागका सर्वसाधारणहरु प्रभावित भएका छन् । 

नियमित रुपमा उडान हुन नसक्दा यात्रु र सिकिस्त बिरामीहरुलाई समस्या हुने गरेको छ । सिकिस्त बिरामीहरुलाई सदरमुकाम खाँदबारीबाट धरान स्थित बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान कच्ची सडक र समय पनि बढी लाग्ने भएका कारण समस्या हुँदा अधिकांशले जहाजबाट नै बिरामीहरु काठमाण्डौ लैजाने गरेका छन् ।  

अहिले तुम्लिङ्गटार विमानस्थलमा निजी क्षेत्रका बुद्ध र यति एयरलाइन्सले दैनिक उडान गर्दै आएका छन्। नेपाल एयरलाइन्सको जहाज भने गएकाे ५ वर्षदेखि बन्द रहेको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया