सबै निर्देशकसँग सुमधुर सम्बन्ध छ : प्रदीप खड्का

 फागुन २४, २०७५ शुक्रबार ८:३७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्र प्रेमगीतबाट दर्शकको मनमा बस्न सफल अभिनेता हुन् प्रदीप खड्का ।  उनी यतिबेला चलचित्र लभस्टेशनको प्रचार प्रसारमा व्यस्त छन् । चैत २२ गते बाट अल नेपाल प्रदर्शनको तायारीमा रहेको चलचित्र लभस्टेशनमा प्रदीपको लगानीसमेत रहेको छ । लभस्टेशन पश्चात् पनि उनलाई लिएर चलचित्र निर्माण गर्ने निर्देशक निर्माताको कमी छैन । 

एक पछि अर्को चलचित्रका लागि उनलाई अफर आइरहेका छन् । बेला बेलामा विभिन्न निर्देशक निर्मातासँग प्रदीपको सम्बन्ध सुमधुर नभएको कुरा बाहिरिने गरेको छ तर प्रदीप भने आफूले काम गरेका निर्माता तथा निर्देशकसँग आफ्नो सम्बन्ध सुमधुर रहेको बताउँछन् ।

उनीसँग सम्बन्ध सुमधुर नभएका भनिएका निर्देशकहरुप्रति अभिनेता प्रदीप खड्काको धारणा के छ ? प्रस्तुत छ उनकै शब्दमा :

निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेन

चलचित्र ‘प्रेम गीत’ मेरा लागि करियरको सबै भन्दा महत्वपूर्ण चलचित्र हो र सुदर्शन दाइ मलाई कर्म दिने पिता हुनुहुन्छ । सन्तोष सेन पनि मेरो चलचित्र करियरकै  महत्वपूर्ण व्याक्तित्व हो । आज म जुन स्थानमा छु सुदर्शन दाइ र सन्तोष दाइ कै कारण छु । सुदर्शन दाइमा क्रिएटिभ गर्ने अत्भूत क्षमता छ र म उहाँलाई सधै सम्मान गर्छु ।

जसरी सुदर्शन दाइ र सन्तोष दाइसँग मेरो सम्बन्धलाई लिएर विभिन्न नकारात्मक टिका टिप्पणीहरु आउने गरेका छन्, त्यसमा कुनै सत्यता छैन । हाम्रो फोनमा कुराकानी भइरहेको हुन्छ, विभिन्न कार्यक्रमहरुमा भेट भइरहेको हुन्छ । हामीबीचमा फेरि चलचित्र गर्ने विषयमा कुराकानी नभएको पनि हैन । सायद फेरि हामीले सँगै काम गर्ने निश्चित भएको दिन यस्ता जिज्ञासाहरु पनि सकिनेछन् भन्ने आशा राखेको छु ।

निर्देशक रामशरण पाठक 

निर्देशक रामशरण पाठक नेपाली चलचित्र सँधै अर्ग्यानिक हुनुपर्छ भन्ने मान्यता राख्नु हुन्छ । चलचित्र प्रेमगीत पनि उहाँले नै लेख्नुभएको हो । 

चलचित्रमा अर्ग्यानिक  कुरालाई कसरी क्रमबद्ध ढंगले प्रस्तुत गर्न सकिछ भन्ने क्षमता रामशरण सरमा छ । मैले प्रेम गीत २ बाट त रामशरण सरलाई अझै धेरै चिन्ने मौका पाएँ । उहाँसँग काम गरिरहँदाका मैले धेरै कुरा सिक्ने अवसर पाएको छु । प्रेमगीत २ मा काम गर्दा मैले म नेपाली चलचित्रमा अझै बढी सुरक्षित भएको अनुभव गरेको थिएँ । 

मैले पछिल्लो समय जुन चलचित्रमा काम गरिरहेको हुन्छु हरेक चलचित्रको स्क्रिप्ट रामशरण सरलाई देखाएकै हुन्छु र उहाँले दिनुभएका सल्लाह सुझाव अनुसार नै अघि बढीरहेको छु ।

उहाँले मलाई चलचित्र ‘सयकडा १०’ मा पनि अफर गर्नु भएको थियो तर मैले अर्को चलचित्रमा काम गर्ने पक्का भैसकेकोले र उहाँले पनि मलाई पर्खिने समय नभएकाले म उक्त चलचित्रमा काम गर्न असमर्थ भएँ । एउटा चलचित्रमा काम नगर्नेवित्तिकै सम्बन्ध नै बिग्रिएको भन्ने हुँदैन । म सधै उहाँलाई सम्मान गर्छु र निरन्तर गरिरहन्छु ।

निर्देशक मिलन चाम्स

मिलन सर र मेरो सम्बन्ध कहिल्यै नराम्रो भएको छैन । हामीबीच सँधैजसो कुराकानी भैरहेको हुन्छ । चलचित्रका विषयमा पनि कुराकानी भैरहन्छन् । 

मिलन चाम्स नेपाली चलचित्रलाई नेपालमा मात्र नभएर विश्वमाझ चिनाउनु पर्छ भन्ने भावना राख्नु हुन्छ । यही अनुसार उहाँ काम पनि गर्नुहुन्छ । चलचित्र लिलिबिलिलाई लण्डन, हङकङ, इंग्ल्याण्डजस्ता देशहरुमा छायांकन गरेर नेपाली चलचित्रमा पनि त्यस किसिमका क्वालिटी सम्भव छ भन्ने प्रमाणित गरिदिनु भयो । त्यसभन्दा अगाडी मिलन सरले गर्नु भएका चलचित्रहरुमा पनि त्यसै किसिमको क्वालिटी पाउन सकिन्छ । अब आउने दिनहरुमा पनि दिनमा पनि यदी कसैले नेपाली चलचित्र विश्वभर पुर्याउन सक्छ भने त्यो निर्देशक मिलन चाम्स हो । 

निर्देशक निरक पौडेल

निरक सरसँगको सम्बन्ध अन्यनिर्देशसँग भन्दा केही फरक भयो । निरक सर एकदमै शान्त स्वभावमा ध्यान पुर्याएर काम गर्ने निर्देशक हुनुहुन्छ । हतारमा कुनै पनि काम गर्नुहुन्न भन्ने उहाँको भावना छ । 
चलचित्र निर्देशन गर्ने शैली नै निरक सरमा फरक पाउने गरेको छु । उहाँको कार्यशैलीबाट म एकदमै प्रभावित पनि भएको छु । निरक पौडेलसँग काम गर्न पाउँदा म आफूले आफूलाई नै भाग्यमानी महसुस गर्ने गरेको छु ।

निर्देशक उज्वल घिमिरे

चलचित्र क्षेत्रमा उज्वल घिमिरे एक अनुभवी निर्देशक हुनुहुन्छ ।  सर उज्वल सरले पुरानो शैली अपनाएर पनि चलचित्र बनाउनु भएको छ भने अहिलेको जेनेरेशन सँग मिल्ने चलचित्र निर्माणमा पनि उहाँ माहिर हुनुहुन्छ । त्यसकै ज्वलन्त उदाहरण हो चलचित्र लभस्टेशन । 

प्रस्तुती : मनोज दाहाल 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया