लगानी सम्मेलन गर्दैमा विदेशी लगानी नभित्रिने अर्थविदहरुकाे भनाइ

 चैत २, २०७५ शनिबार १७:५२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थविद्हरुले लगानी सम्मेलन गर्दैमा विदेशी लगानी नभित्रने भन्दै लगानी मैत्री वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् । 

‍शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा अर्थविद्हरुले विदेशी लगानीमा देखिएका कानुनी र प्रक्रियागत जटिलतालाई सहज बनाउदै देशमा शान्ति सुरक्षा कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले लगानी सम्मेलनलाई उधारो र कपाली तमसुकमा सही गरेर निरन्तरता दिने काम नगर्न सरकारलाई सुझाव दिनुभयो ।

ठूला परियोजनाहरुको सवालमा जग्गा उपलब्ध गराउने, परियोजना स्थलका स्थानीयका माग सम्बोधन र सुविधा लगायतका बारेमा सरकारले प्रयत्न गर्ने भन्ने उल्लेख गरेर मात्रै लगानी आकर्षण गर्न नसकिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘पूँजी आफैमा एउटा लक्षण लिएर आउँछ, उधारो र कपाली तमसुकमा सही गरेर निरन्तरता दिने काम नहोस् ।’

उहाँले व्यवस्था परिवर्तन भए पनि यसका परिचालकहरु पुरानै हुँदा समस्या देखिएको टिप्पणी गर्नुभयो । विदेशी कम्पनीहरुले लिँदै छोड्दै गरेको पश्चिम सेती परियोजना आफ्नै कार्यकालमा बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई आफूले दुई कोणबाट हेरेको उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘यो परियोजनामा धेरै विदेशी कम्पनीहरुले धेरै लामो समय खाए, तर अहिले प्रधामन्त्रीले मेरै कार्यकालमा बनाएर छोड्छु भन्नुभएको छ ।यसमा दुई कुरा मैले देखेको छु, एउटा उहाँ जंगबहादुर राणा बनेर आफ्नो कार्यकाल लम्ब्याउने पक्षमा हुनुहुन्छ, र अर्को कुनै पनि दलालीहरुको कुरा नसुनेर साँच्चै देशको विकासमा लाग्नुहुन्छ ।’

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व राजदुत डा. शंकर शर्माले नेपालमा विदेशी लगानीको अवस्था अझै पनि सन्तोषजनक नरहेको टिप्पणी गर्नुभयो ।

यसअघिको लगानी सम्मेलनमा गरिएको १४ खर्बको प्रतिबद्धता अहिलेसम्म आउन नसकेको भन्दै उहाँले अबको सम्मेलनमा पनि लगानी सम्झौतामा हस्ताक्षर हुनुलाई मात्रै उपलब्धिपूर्ण मान्न नसकिने बताउनुभयो । यसपटक आयोजना नै प्रस्ताव गर्ने विषय राम्रो भए पनि लगानीका लागि नीतिगत र प्रक्रियागत अवस्थामा सुधार आउन नसकेकाले लगानी सम्मेलनमा विदेशी र स्वदेशी लगानीकर्ताको राय लिने काम मात्रै हुने दावी उहाँले गर्नुभयो ।

पूर्व अर्थसचिव तथा राष्ट्रिय पून:निर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख युवराज भुषालले सरकारले गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य भए पनि विगतमा गरिएको प्रतिबद्धता अनुसारको लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यसअघिको लगानी सम्मेनलमा सम्झौता भएका र सहमति गरिएका लगानी किन आएनन् ? यसबारेमा पनि कुरा कोट्याउनुपर्छ ।’ उहाँले देशको शान्ति, सुरक्षा, विदेशी लगानीमा रहेका कानुनी जटिलताहरुलाई सरल बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने लगानी सम्मेलनमा ३८ देखि ४० देशका ४ सय बढीको सहभागिता सुनिश्चत हुनुले नेपालका बारेमा अन्तराष्ट्रिय जगतमा राम्रो सन्देश गएको भन्दै सम्मेलन सफल र उत्साहप्रद हुने टिप्पणी गर्नुभयो ।

उहाँले सम्मेलनमा आउने केहीले सुरुमै एम.ओ.यू र केहीले सम्झौता गर्ने सम्बन्धमा कुरा भइरहेको स्पष्ट पार्नुभयो । 

यही चैत्र १५ र १६ गते काठमाण्डौमा लगानी सम्मेलन हुँदै छ ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया