शुद्ध पानी काठमाण्डौ उपत्यकावासीको अधिकार हाे, मेलम्ची आयोजनामा ढिलाइ गर्नुहुन्न: सभापति खड्का

 चैत ८, २०७५ शुक्रबार १२:४२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय संसदको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधानका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाएको छ । 

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले मेलम्चीको खानेपानी आयोजनामा देखिएको समस्या तत्काल समाधानका लागि आवश्यक पहल गर्न सरोकारवाला निकायलाई पनि आग्रह गर्नुभयो । शुक्रबार काठमाण्डौमा आयोजित ‘नेपालमा पानी’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मेलम्ची खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई पनि सचेत गराउनु भयो ।

शुद्ध पानी पिउने काठमाण्डौ उपत्यकाबासीको अधिकारलाई पूरा गर्न पनि सो आयोजना सम्पन्न गर्ने काममा ढिलाई गर्न नहुने सभापति खड्काको भनाइ छ । इटालियन ठेकेदार कम्पनी सीएमसीले काम पूरा नगरी छोडेर गएपछि आयोजनाको बाँकी काम अलपत्र परेको छ ।

समितिकी सभापति खड्काले सो आयोजनामा देखिएको समस्या तत्काल समाधान गर्न सबै पक्षले पहलकदमी लिनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

सभापति खड्काले भूक्षय नै हुने गरी जथाभावी ढंगले विकास निर्माणको काम अघि नबढाउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले ठूला आयोजना निर्माणको नाममा सरकारले नै बाढी, पहिरो आउने गरी विकास निर्माणको कामलाई अघि बढाएकोमा आपत्ति पनि जनाउनु भयो ।

सभापति खड्काले पहिरोजस्ता प्राकृतिक विपत्ति आउन नदिने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सरकारको पनि गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया