निजी आवास अनुदानमा मात्रै अहिलेसम्म एक खर्ब ७० अर्ब रुपैयाँ खर्च

 चैत ९, २०७५ शनिबार १२:५०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भूकम्पपछिको निजी आवास अनुदानमा अहिलेसम्म एक खर्ब ७० अर्ब रुपैयाँ खर्च भएको छ । 

घर बनाउनेलाई अनुदानको तीन किस्तामा १ खर्ब ५९ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ, केही रेट्रोफिटिङ प्रभावित र जग्गा खरिदमा दिएको रकमसहित अहिलेसम्म आवास अनुदानमा १ खर्ब ७० अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

७ लाख ५१ हजार ७ सय ५८ लाभग्राहीलाई पहिलो किस्ता ५० हजारका दरले ३७ अर्ब, ५८ करोड, ७९ लाख रुपैयाँ वितरण भएको छ । त्यस्तै ५ लाख ५४ हजार ५ सय २६ जनालाई दोस्रो किस्तामा डेढ लाख गरी ८३ अर्ब, १७ करोड, ८९ लाख रुपैयाँ वितरण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

त्यसैगरी घर सम्पन्न गरी तेस्रो किस्ता बुझेका ३ लाख ८९ हजार ९ सय २१ जनालाई अन्तिम किस्ताको १ लाख गरी ३८ अर्ब, ९९ करोड २१ लाख रुपैयाँ वितरण भएको प्राधिकरणका उपसचिव मनोहर घिमिरेले बताउनुभयो । चालु आर्थिक वर्षको ९ महिनामा निजी आवासका लागि ३४ अर्ब रुपैयाँ खर्च भएको छ । चालु आर्थिक बर्षमा आवास अनुदानका लागि ८५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । 

२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि निजी आवासका लागि मात्रै झण्डै ५ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो । 

सरकारले भूकम्पबाट घर भत्किएका लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख गरी तीन लाख रुपैयाँ अनुदान दिने गरेको छ । घर चर्किएर रेट्रोफिटिङ गर्नुपर्ने लाभग्राहीले पहिलो किस्तामा ५० हजार र दोस्रोमा ५० हजार गरी एक लाख रुपैयाँ अनुदान पाउँछन् ।
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया