'आधा जीवन'को विमोचन कतारमा

 चैत १०, २०७५ आइतबार १३:४५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

गएकाे १२ वर्षदेखि कतारमा कार्यरत पत्रकार दीपक पुडासैनीको कविता संग्रह 'आधा जीवन'को दोहास्थित गोर्खा रेष्टुरेण्टमा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्य वाचनालाय कतारले संयुक्त रुपमा याे पुस्तक विमोचन कार्यक्रम आयोजना गरेका थिए ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिमबक्स मियाको प्रमुख आतिथ्य तथा नबोदित मोबाइल साहित्य वाचनालयका अध्यक्ष दीपमिलन को सभापतित्वमा सम्पन्न भएको यस कार्यक्रममा साहित्यकार सिताराम थापाले विमोचित कृति आधा जीवनको समीक्षा गर्नुभएकाे थियाे ।

एडीबी पब्लीकेशनद्वारा प्रकाशित तथा बुलबुल पब्लिकेशन द्वारा वितरित आधा जीवन कविता संग्रहमा पुडासैनीका ३९ वटा र उहाँकी छोरी दिक्षा पुडासैनीका ३ वटा कविता समेटिएका छन् । 

घर, परिवार, गाउँ, समाज र देश छोडेका प्रवासीहरुले आफ्नो हरेक पल आधा बाँचेका हुन्छन् । शरिर प्रवासमा भए पनि मन हरपल स्वदेशमै आफ्नै गाउँ/समाज र परिवारसँगै रुमल्ली रहेको हुन्छ । यही भावलाई मनन गरेरै आफ्नाे कृतिको नाम आधा जीवन राखेको सर्जक दीपक पुडासैनीले बताउनुभयाे ।

अनेसास कतार च्याप्टरका अध्यक्ष प्रेमप्रसाद भट्टराईले सञ्चालन गर्नुभएकाे कार्यक्रममा २० गजलकारका १०० गजलहरुको संग्रह इन्द्रेणी भाग ४ को पनि विमोचन गरिएको थियो । युवा साहित्यकार रमेश सापकोटा 'हरिलठ्ठक' को जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा युवा साहित्यकार निर्मल ढुंगानालाई रमेश स्मृती सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो ।

कतारमा समाजसेवा र साहित्यमा अतुलनीय योगदान पुर्‍याउनुभएका स्व. शिखर बैधको स्मृतिमा मौनधारण गर्दै सुरु भएको कार्यक्रम अनेसास नबोदितको ९०औँ वाचन डबली पनि थियो ।  जुन डबली गएकाे एक दशकदेखि हरेक महिनाको दोस्रो शुक्रबार कतारमा आयोजना गरिँदै आएको छ ।

मुक्तक विशेष उपनाम दिइएको यस कार्यक्रममा ५ जना मुक्तककारहरु अविनास सापकोटा, सागर विभोर पाल्पाली, बिन्दा लामा, यादव रेग्मी र स्वतन्त्र नेपालले आ-आफ्ना मुक्तक वाचन गरेका थिए ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया