दार्चुला–चीन जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 चैत १३, २०७५ बुधबार २२:८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं  – चीन जोड्ने दार्चुला खलंगा–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन दार्चुलाबाट संघीय संसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन। 

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर दार्चुलाका संघीय संसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीका जनप्रतिनिधिले चीनको ताक्लाकोट जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरिदिन अनुरोध गरेका हुन् । संघीय संसद प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भन्नुभयो, ‘विस्फोटक पदार्थको अभाव र ठेकेदारहरूको ढिलासुस्तीले सडक निर्माण कार्यमा ढिलाइ भएकाले आगामी आर्थिक वर्षबाट दार्चुला तिंकर सडक नेपाली सेनामार्पत संचालनका लागि निर्णय गरिदिनुहुन प्रधानमन्त्रीज्यूसमक्ष अनुरोध गरिएको हो ।’ 

नेपाली र भारतीय हिन्दू धर्मावलम्बीको पवित्र धार्मिक धाम मानसरोवर जोड्ने र चीनसँगको व्यापारिक दृष्टिले पनि महत्वपूर्ण सडक भएकाले यसको निर्माण छिटो होस् भनेर सेनालाई दिन माग गरिएको सांसद ठगुन्नाले बताउनुभयो । उहाँले विस्फोटक पदार्थको अभावले सडक निर्माण ढिलाइ भएको र विस्फोटक जिलेटिन सेनामार्फत मात्रै प्राप्त हुने भएकाले पनि यो सडक निर्माणको जिम्मा सेनालाई दिनुपर्नेमा जोड दिनुभयो ।

खलंगा–तिंकर सडकखण्डको ४० किलोमिटर ट्रयाक खोलिएको छ । करिब १४० किलोमिटर सडकको बाँकी ट्रयाक खोल्ने काम नै बाँकी रहेको छ । यो सडकको काम आर्थिक वर्ष २०६७/६८ बाट सुरु भएको हो । यसको अहिले सात किलोमिटर सडकखण्डको स्तरोन्नतिको काम चलिरहेको छ ।

गोकुलेश्वर एयरपोर्ट सञ्चालन गर्न माग

दार्चुलाबाट प्रदेश र संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका जनप्रतिनिधिहरूले दार्चुलाको गोकुलेश्वरमा रहेको एयरपोर्ट पुनः सञ्चालनमा ल्याउन प्रधानमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन् । 

लामो समयदेखि क्षतिग्रस्त अवस्थामा रहेकाले त्यो विमानस्थल पुनः सञ्चालनका लागि बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । 

दार्चुलाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसद गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशी बडाल, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।    
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया