विप्लव नेतृत्वको नेकपाका नेता वलीलाई ३ दिनभित्र हाजिर गराउन सर्वोच्च अदालतको आदेश

 चैत १४, २०७५ बिहिबार १९:३१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई पक्राउ गर्नुको कारणसहित तीन दिनभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । 

बुवालाई प्रहरीले पक्राउ गरेपछि छोरी विपना वलीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । 

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा वलीलाई बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिनुभएको हो ।  

प्रधानन्यायाधीश जबराको एकल इजलासले पक्राउ गर्नुका कारण र बन्दीसहित तीन दिनभित्र अदालतमा उपस्थित हुन गृह मन्त्रालयको नाममा निर्देशन दिनुभएको हो ।

वलीलाई गएको शनिबार काभ्रेको खानीखोला–७, मिल्चेबाट प्रहरीले पक्राउ गरेको थियो । 

बा १७ च ४८९३ नम्बरको जीपबाट काठमाडौं आउँदै गर्दा वलीसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ ।  

वलीसहित पक्राउ परेकामाथि संगठित अपराध मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद लिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया