ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
नुवाकोट - नुवाकोट र रसुवाको सिमानामा निर्माण भइरहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आउँदाे असार मसान्तसम्ममा पूर्णरुपमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाका बाँकी रहेका काम पनि धमाधम भइरहेका छन् ।
आयोजनाका निर्माण भइसकेका कामहरुको परीक्षण कार्य पनि धमाधम भइरहेको आयोजनाले जनाएको छ । चैत लागेपछि आयोजनाको परीक्षणको कामहरु भइरहेको छ । बिहीबार आयोजनामा निर्माण गरिएको बाँधको सफलतापूर्वक परीक्षण भएको छ ।
आयोजनाका हरेक भागको छुट्टाछुट्टै परीक्षण गरिसकेपछि मात्र सञ्चालनमा ल्याउनुपर्ने भएकोले अहिले बाँधको परीक्षण भइरहेको आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले बताउनुभयो । उहाँले भूकम्पको कारण क्षति पुगेको बाँधस्थलको परीक्षणमा सफलता हात लागेको बताउनुभयो । जोशीका अनुसार, बाँधको तीन वटा ढोका थुनेर डिसेन्टर (पानी जमाउने पोखरी) मा पानी पठाउने काममा सफलता मिलेको छ ।
बाँध परीक्षणको लागि बिहीबार बिहान नदी थुनेर जमाइएको पानी ४८ घण्टासम्म राखिने आयोजनाका उपप्रबन्धक इञ्जिनियर सत्यराम ज्याख्वाले बताउनुभयो । ‘निर्माण भएका सबै भौतिक, इलोक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल तर्फको सबै परीक्षण पूरा गर्नुपर्छ । तोकिएको अवधिसम्म परीक्षण गर्नुपर्छ’ उप्रबन्धक ज्याख्वाले भन्नुभयो, ‘अर्को हप्ताबाट हामी सुरुङको परीक्षण शुरु गर्ने छौं ।’
४५ दिनको परीक्षण पूरा गरेपछि आगामी वैशाख १७ गतेबाट पहिलो युनिटबाट ३० मेगावाट बिजुलीको उत्पादन गरिने लक्ष्यका साथ काम भइरहेको उपप्रबन्धक ज्याख्वाले बताउनुभयो । उहाँका अनुसार, दोस्रो युनिटको ३० मेगावाट बिजुली उत्पादन आउँदाे असार १५ गते गरिने योजना रहेको छ ।
चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।
सम्झौता अनुसार, सन् २०१४ को अप्रिलमा सक्नुपर्ने आयोजना ६० मेगावाटबाट ९० बनाउने कि नबनाउने भन्ने विवादका कारण लम्बिएको थियो । पछि २०१५ को भूकम्पको कारण निर्माणाधीन बाँधस्थल र पहुँचमार्गमा भएको क्षतिको कारण आयोजनाको निर्माण अवधि लम्बिएको हो ।
आयोजना तोकिएको अवधिभन्दा ५ वर्ष ढिला भए पनि अहिलेसम्म लागत नबढेको आयोजनाले जनाएको छ ।
सन् २०११ जुनदेखि सीजीजीसी कम्पनीले उक्त आयोजनाको निर्माणको काम थालेको थियो । निर्माणका लागि उक्त कम्पनीसँग इञ्जिनियरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन (इपिसी) अवधारणामा सम्झौता भएको थियो ।
आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर प्रक्षेपण गरिएको छ । भूकम्पले बाँधस्थल, पहुँच मार्गलगायतमा धेरै क्षति पुर्याएको आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायी पक्षलाई हालसम्म कुनै ‘भेरिएशन’ नदिइएको कारण लागतमा वृद्धि नभए पनि ठेकेदार पक्षले दावी गरिराखेकोले लागत भने बढ्नसक्ने आयोजनासम्बद्ध अधिकारीहरुले जनाएका छन् ।
त्रिशूली नदीमा रहेकाे रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादनगृह रहेको आयोजनाको संरचना सबै भूमिगत (पहाड भित्र) बनाइएको छ । बाँधस्थलमा पूरै नदीमा बाँध बाँधिएको छ भने माछालाई ओहोरदोहोर गर्न खण्डखण्ड(फिस ल्याडर) बनाइएको छ ।
पहाडभित्र रहेको उत्पादन गृहभित्र सतहदेखि माथिसम्म ३४ मिटर अग्लो सुरुङ बनाइएको छ । यो भनेको, ११ तला अग्लो घर बराबरको सुरुङभित्र उत्पादन गृह निर्माण गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।