ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
महोत्तरी - संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको गृहनगरमा रहेको स्वास्थ्य संस्थामा नै औषधिको अभाव कायम छ ।
मन्त्री यादवको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने महोत्तरीको सम्सी गाँउपालिकामा रहेको स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको अभाव भएको चिकित्सकहरुले बताए ।
४ वटा स्वास्थ्य चौकी र १ वटा प्राथमिक स्वास्थ्य केन्द्र रहेको सम्सी गाँउपालिकामा हाल अत्यावश्यक औषधिहरुको अभाव देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको घर नजिकै रहेको स्वास्थ्य चौकी गैढाभेटपुरमा महिनौँदेखि महिलाहरुको लागि आवश्यक पर्ने पिल्स र डिपोको अभाव रहेको छ ।
स्वास्थ्य चौकीका इन्चार्ज दिनेश रायले यस विषयमा प्रत्येक महिनाको ४ गते बस्ने मासिक बैठकमा जानकारी गराउँदा समेत सम्बन्धित निकायले समयमै चासो नलिएको गुनासो गर्नुभयो । पहिले पहिले जिल्ला जनस्वास्थ्य कार्यालयले समयमै आवश्यक औषधिहरु पठाउने गर्थयाे, जसले गर्दा सेवाग्राहीहरुले सुलभ रुपमा सेवा पाउने गर्दथे । तर पछिल्लो समय गाँउपालिकाले नै औषधिको प्रबन्ध गर्ने भएपछि यस्तो समस्याको सिर्जना भएको इन्चार्ज रायले बताएका छन् ।
सम्सी गाँउपालिका ५ मा पर्ने स्वास्थ्य चौकी पोखरभिण्डामा ४ महिनादेखि महिलाहरुको लागि आवश्यक रहेको पिल्सको अभाव रहेको स्वास्थ्य चौकीका चिकित्सक दीपेन्द्रकुमार साहले जानकारी दिनुभयो । सम्बन्धित निकायमा बारम्बार जानकारी गराउँदासमेत गलत आश्वासनबाहेक आफूहरुले केही पाउन नसकेको चिकित्सक साहले गुनासो पोख्नुभयो । हाल उपचारको लागि आउने ज्वरो, रुघाखोकी, छाला रोगसम्बन्धी बिरामीहरु खाली हात फर्किनुपर्ने बाध्यता रहेको चिकित्सक साहले बताउनुभयो ।
त्यस्तै ४५ प्रकारका औषधिहरु नेपाल सरकारद्धारा निःशुल्क रुपमा पाइने प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा अधिकांश औषधिहरुको अभाव रहेको डा. अमित रन्जनले बताउनुभयो । गाँउपालिकाले समयमै औषधिहरु नपठाएकै कारण सेवाग्राहीहरुलाई खुशी पार्न नसकेको डा. रन्जनले बताउनुभयो ।
यस सम्बन्धमा गाँउपालिकाका अध्यक्ष शेख फारुखले स्वास्थ्य संस्थामा अभाव रहेको अत्यावश्यक औषधिहरुको व्यवस्थापनको लागि आफूहरु लागिपरेको जनाउनुभयो । गाँउपालिकाको कार्यालयले अत्यावश्यक औषधिहरुको व्यवस्थापनका निम्ति जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गर्दै आएको गाँउपालिकाका अध्यक्ष शेख फारुखले बताउनुभयो ।
डा. सुरेन्द्रकुमार यादव महोत्तरीको सम्सी गाँउपालिका क्षेत्रबाट निर्वाचित भई हाल संघीय सरकारका स्वास्थ्य राज्यमन्त्रीको भूमिका सम्हाल्दै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।