वर्तमान सरकारलाई पूर्वराजासँग तुलना नगर्न सञ्चारमन्त्रीको आग्रह

 चैत १७, २०७५ आइतबार ११:४०:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्व राजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गर्नुभएको छ । 

रिपोर्टस क्लबको २१ औ वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तलुना नगर्न आग्रह गर्नुभएको हो । सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो ‘प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ । स्वतन्त्रता अपहरित हुँदैन । केही पनि हुदैन । ज्ञानेन्द्रसँग तुलना नगर्नु होला । ज्ञानेन्द्रको पृष्ठभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्ठभूमि, निष्ठा, लक्ष, उद्देश्य, लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र देशभक्ति पूर्ण आन्दोलन र जनताको नागरिक आन्दोलनको लागि विल्कुल भिन्न पृष्ठभूमि हो । कसैले जनताको अधिकार खोस्यो । कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ । ७ साल देखि नै लडेर आएको छ ।  सधैँ यो कुरा किन उठाउनुहुन्छ ।  मलाई अच्चम लाग्छ ।’

उहाँले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘प्रतिष्ठित पत्रकारहरु वास्तविक पत्रकारहरु अहिले लज्जित हुँदैछन् । रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के–केसम्म समाचार छाप्नुभयो ? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैँलाई लाज लाग्दैन अहिले ? के लेखियो भनेर ? आफ्नो धोती फुस्केको थाहा छैन । सरकारमाथि ख्याउँ ख्याउँ अचम्म लाग्छ ।’

नियमन र नियन्त्रण फरक विषय भएको भन्दै उहाँले आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह गर्नुभयो । सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणी प्रति पनि उहाँले आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो ‘कसले फेसबुकमा प्रतिबन्ध लगाउने भन्या छ ? कस्ले टुइटरमा लगाउने भन्या छ ? पैसा चाहि तिर्नु पर्छ कि पर्दैन यहाबाट पैसा लगेपछि ? ट्याक्सचाहीँ तिर्नुपर्छ कि पर्दैन ? हाम्ले समृद्ध राष्ट्र बनाउने भन्या छौ । विज्ञापनको बजार विस्तार हुनु पर्छ कि पर्दैन ?’

उहाँले आगामी वर्षमा समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिड विज्ञापन प्रणाली लागू हुने उद्घोष गर्नुभयो । उहाँले यसै वर्ष ल्याउने तयारी भइरहेको मिडियाको पनि छाता ऐनले पनि संञ्चार क्षेत्रलाई थप व्यवस्थित पार्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया