साँझ खाना खाने तयारी गर्दै गर्दा आएको हावाहुरीले एकै छिनमा सबै उडायो

 चैत १८, २०७५ सोमबार १५:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २०७२ मा आएको भूकम्पले उजाड बनाएको बारपाकको जस्तै उजाड बनेको छ । बाराको फेटा गाउपालिकाको भरबलिया र पूरैनिया । आइतबार साँझ आएको भूमरीसहितको हुरीले गाउँको अधिकांश घर भत्किएको छ । 

बस, ट्रकसमेत पल्टाएको हुरीले बाँसले बेरेका तथा गोबर माटोले छापेका घरहरु ढालेको छ । जस्ता, फुस, खबटाले छाएका घर पूर्ण रुपमा क्षति भएको छ ।

फेटा गाउँपालिकामा मात्रै एकै परिवारका ४ सहित १३ जनाको मृत्यु भएको छ । फेटा गाउँपालिकाको वडा नम्बर–६, पुरैनियामा एकै परिवारका ४ जनासहित ९ जनाको ज्यान गएको हो ।    

यस्तै फेटाकै वडा नम्बर १ भलुई भरवलियामा ४ जनाको ज्यान गएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हिमबहादुर शाहीले जानकारी दिनुभयो । 

यस्तै कलैया उपमहानगरपालिकाको धर्मनगरमा ४ जना, भवानीपुरमा २ जना, पर्सौनीमा १ जना, महागढीमाई नगरपालिकाको तेलकुवामा १ जना, सुवर्ण गाउँपालिकाको हर्दियामा १ जनाको ज्यान गएको उहाँले बताउनुभयो । हावाहुरीमा परि इँटा भट्टामा काम गर्ने ४ जना भारतीय नागरिककोसमेत ज्यान गएको छ ।

हावाहुरीका कारण वीरगञ्ज महानगरपालिका १२ गण्डक नजिकै बिजुलीको पोल ढल्दा हेटौँडाबाट वीरगञ्ज गइरहेको ना ६ ख ९३६० नम्बरको बसमा पर्न जाँदा एक जनाको ज्यान गएको छ ।  

हावाहुरीले बाराको दक्षिणी ग्रामीण क्षेत्र तहस नहस नै बनाएको छ । पर्साको ग्रामीण क्षेत्रमा हावाहुरीले प्रभाव पारेको भए पनि मानवीय क्षति भने भएको छैन । तर बाराको ग्रामीण क्षेत्रमा भने २०७२ सालमा आएको भूकम्पलेभन्दा पनि बढी क्षति पुर्याएको छ ।  

हावाहुरीले घर भत्काउँदा ४ सयभन्दा बढी घाइते भएका छन् । उनीहरुको बारा पर्साका विभिन्न अस्पतालमा अहिले उपचार भइरहेको छ । गम्भीर ६ जनालाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । उपचारपछि ३ सयभन्दा बढी घर फर्किए पनि उनीहरुको घर हावाहुरीले उडाउँदा घर बाहिरै बस्नु परेको छ ।

हावाहुरीले अधिकांश घरमा क्षति पुगेकाले प्रभावितहरु खुला आकाशमा बस्नु परेको छ । हावाहुरीले अन्नपात, लत्ताकपडा तथा भाडावर्तन सबै उडाइदिएको छ ।  

साँझ खाना खाने तयारी गर्दै गर्दा अचानक आएको हावाहुरीले एकै छिनमा सबै उडाएर लगेको प्रभावितहरु बताउँछन् । सबै उडाएपछि भोक भोकै रात काट्नु परेको उनीहरुको भनाइ छ । 

हावाहुरीले बाराको पश्चिमि क्षेत्र भलुई भरबलियाबाट पूर्वी क्षेत्रको पचरौतासम्मको गाउँमा क्षति पुर्यायो । क्षति पुगेका स्थानहरु भारतीय सीमाबाट नजिक पर्छ । 

हावाहुरी प्रभावित क्षेत्रमा अधिकांश घरको छाना उडेको छ । पर्खाल ढलेको छ । 
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया