खाडीमा बेच्न लगिएका १२ नेपाली युवतीकाे दिल्लीबाट उद्धार

 चैत १८, २०७५ सोमबार २०:६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – दिल्ली महिला आयोगले आइतबार राति उत्तरपश्चिम दिल्लीबाट १२ नेपाली युवतीको  उद्धार गरेको छ । उदय नाम गरेका एक एजेन्टले दुबई र अन्य खाडी देशमा राम्रो रोजगार दिने प्रलोभनमा पारेर ती युवतीहरुलाई दिल्ली पुर्‍याएका थिए । 

आनन्दी (नाम परिवर्तित) बाट दिल्ली महिला आयोगका सदस्य किरण नेगीले गुनासोप्राप्त गरेपछि ती महिलाहरुलाई राखिएको क्षेत्र नजफगढमा दुई टोली पठाइएको थियो । आनन्दीको गुनासो पाइसकेपछि आयोगबाट खटिएको टोली उद्धार क्षेत्रमा पुगेको थियो । टोलीले १२ नेपाली युवतीको उद्धार गरे पनि एजेन्ट भनिएका उदय भने भेटिएनन् । 

उद्धार गरिएका युवतीहरुले राम्रो तलबको लोभमा एजेन्टले कामका लागि इराक, कुवेत र दुबई पठाउने वाचा गरेको बताएका छन् । अधिकांश युवतीहरुले एजेन्टलाई राम्रो रोजगार पाउने आशमा ५० हजार बुझाएको र २ जना युवतीले भने २२ लाख दिएको बताए । 

आनन्दीले आफ्नै नजिकका नातेदारले उदय नामको एजेन्टको सम्पर्कमा पुर्याएको बताएकी छिन् । उनले राम्रो रोजगार दिने आशमा इराकमा एक व्यक्तिलाई बेचिदिएका थिए । बेचिएकी आनन्दीमाथि दुव्र्यवहार गरियो र लामो समय पीडित रहेकी उनी त्यहाँबाट भाग्न सफल भएकी थिइन् ।

भारत फर्किएपछि उनले एजेन्टलाई सम्पर्क गरिन् र उनले अन्य लुकाएर राखिएका नेपाली युवतीको बारेमा थाहा पाएपछि दिल्ली महिला आयोगमा सम्पर्क गरेकी थिइन् । 

आनन्दीले इराक जानुपूर्व दिल्लीको पहाडगञ्जमा आफू बलात्कारको शिकार भएको बताइन् । आयोगले बलात्कारको सम्बन्धमा एफआईआर (प्राथमिक मुद्दा दर्ता) का लागि पहल गरिरहेको छ । उद्धार गरिएका युवतीहरुलाई पहिला छावला पुलिस स्टेशन र त्यसपछि आश्रय गृहमा पुर्याइएको छ । 

आयोगकी अध्यक्ष स्वाती मालीवालले भनिन्, ‘ठूलो सङ्ख्यामा मानव तस्करी जारी छ, विभिन्न बाहानामा सयौं महिलाहरु नियमित रुपमा दिल्ली हुँदै खाडी देश पुग्ने गरेका छन् । यस्ता अन्तर्राष्ट्रिय मानवतस्करी गिरोहको भण्डाफोरका लागि दिल्ली पुलिस र नेपाल पुलिसबीच सहकार्य आवश्यक छ ।’

गएको वर्ष पनि आयोगले विभिन्न लोभ र प्रलोभनमा परेर बेचिन लागेका सयौँ नेपाली युवतीहरुको उद्धार गरेको थियो ।   
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया