न्याय परिषदद्वारा ५ जनाको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

 चैत १९, २०७५ मंगलबार १३:५३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – न्याय परिषदले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको छ । 

मंगलबार बसेको न्याय परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना तथा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । 

बैठकले वरिष्ठ अधिवक्ता कुमार रेग्मी (झापा), अधिवक्ता हरि फुयाँल (झापा) र अधिवक्ता मनोजकुमार शर्मा (काठमाण्डौ)लाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । रेग्मी नेपाली कांग्रेस र फुयाँल तत्कालीन नेकपा एमाले र अहिले नेकपा निकट हुनुहुन्छ । फुयाँल यसअघि महान्यायाधीवक्तासमेत बन्नुभएको थियो । 

न्याय परिषदले विभिन्न उच्च अदालतमा पनि न्यायाधीश नियुक्त गरेको छ । न्याय क्षेत्रका विशिष्ट श्रेणीका कर्मचारीबाट नायब महान्यायाधिवक्ता किरण पौडेललाई उच्च अदालत पाटन, सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत पाटनको हेटौँडा इजलास र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव

रमेश ढकाललाई उच्च अदालत जनकपुरको न्यायाधीसका लागि सिफारिस गरिएको न्याय परिषदले जनाएको छ । 

यस्तै साविक पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीश निलम पौडेललाई उच्च अदालत जनकपुरको राजविराज इजलासका लागि सिफारिस गरिएको छ । 

यस्तै, हाल काजमा गोरखा जिल्ला अदालतमा रहेका सर्लाहीका जिल्ला न्यायाधीश राजेशकुमार काफ्लेलाई उच्च अदालत सुर्खेतमा, रौतहटका जिल्ला न्यायाधीश लेखनाथ ढकाललाई उच्च अदालत जनकपुरको राजविराज इजलासका लागि, चितवनका जिल्ला न्यायाधीश कुलप्रसाद शर्मालाई पाटन उच्च अदालत, भक्तपुरका जिल्ला न्यायाधीश मोहम्मद जुनेद आजादलाई उच्च अदालत विराटनगर, जिल्ला अदालत ललितपुरका न्यायाधीश बालमुकुन्द दवाडीलाई जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासका लागि, पर्साका जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णलाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा सिफारिस गरिएको परिषदले जनाएको छ ।

न्यायपरिषदको बैठकले अधिवक्ताहरु जगतबहादुर थापालाई पाटन उच्च अदालत, सरलाकुमारी पाण्डेलाई पाटन उच्च अदालतमा, विमल सुवेदीलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका लागि, रेणुका शाहलाई उच्च अदालत विराटनगरमा, डालकुमार खड्कालाई उच्च अदालत पोखरामा, उज्वल सुक्ललाई उच्च अदालत जनकपुरमा र नवराज थपलियालाई उच्च अदालत दिपायलको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । 

यसैगरी २०७६ साल वैशाख ३ गतेदेखि रिक्त हुने विराटनगर उच्च अदालतमा अधिवक्ता अञ्जु उप्रेती ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको न्यायपरिषदले जनाएको छ ।  

 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया