नेपालको पानी पिउन कतार आतुर छ : कतारी राजदूत

 चैत १९, २०७५ मंगलबार १६:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराउनुभयो ।

मन्त्री मगरले भन्नुभयो, ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ । कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो । म एकदम उत्साहित छु ।’ 

स्प्रिङ वाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिहरुबीच थप छलफल गरेर अघि बढ्ने उहाँले बताउनुभयो । भेटघाटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो ।  भेटघाटमा सहभागी हुनुभएका विभागका महानिर्देशक सुनिलकुमार दासले स्प्रिङ वाटर निर्यात गर्ने विषयमा विभागले अब छिटै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्ने बताउनुभयो ।  

नेपालका लागि कतारका राजदूत अल हेलले नेपालको पानी सफा र स्वच्छ रहेकाले यसको बजार कतारमा राम्रो रहेको स्पष्ट पार्नुभयो । नेपालको पानी पिउन कतार आतुर रहेको राजदूत हेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतारलाई ग्यास र तेलको अभाव छैन तर शुद्ध पिउने पानीको भने समस्या छ । भोलिका दिनमा पानीको समस्या आउने हामीलाई चिन्ता छ । त्यसैले नेपालको पानी कतारमा लैजाने विषयमा दुवै देशका सरकारबीच समझदारी गर्नु अति आवश्यक छ ।’

उहाँले अरु देशकोभन्दा नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त रहेको धारणा राख्नुभयो । नेपालबाट पानी निर्यात गर्ने विषयमा थप छलफल गरिसकेपछि सहमतिमा हस्ताक्षर गर्न कतार सरकार तयार रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया