इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सको पहिलो हार

 चैत २१, २०७५ बिहिबार ६:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले पहिलो हार ब्यहोरेको छ । मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा घरेलु टिमले चेन्नईलाई ३७ रनले हरायो । 

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५९ रन बनाए । उनले ४३ बलमा आठ चौका प्रहार गरेका थिए । यस्तै क्रुनाल पाण्ड्याले ३२ बलमा ४२ रन बनाए । हार्दिक पाण्ड्याले पनि ८ बलमा २५ रन बनाए । उनले एक चौका र तीन छक्का प्रहार गरेका थिए ।

१७१ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवात राम्रो गर्न सकेन । भरपर्दा ब्याट्सम्यान सुरेश रैना पनि टिमको स्कोर ३३ रन हुँदा १६ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका केदार जादवले भने चेन्नईका लागि ५८ रनको योगदान दिए ।

चेन्नईका अन्य कुनै ब्याट्सम्यान चल्न सकेनन् । बलिङतर्फ लसिथ मालिङ्गाले तीन विकेट लिए भने हार्दिक पाण्ड्या र ज्यासन बेह्रेन्डर्फले २–२ विकेट लिए । चार खेलमा दोस्रो जित हात पारेको मुम्बईले ४ अंक बनाएको छ । चेन्नई भने पराजयको बबजुत ६ अंकसहित आईपीएल तालिकाको शीर्ष स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया