गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमि समेटिएको छुदेन काविमोको उपन्यास ‘फातसुङ’ सार्वजनिक

 चैत २२, २०७५ शुक्रबार १७:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास ‘फातसुङ’ सार्वजनिक भएको छ । 

काठमाण्डौमा शुक्रबार आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले  उपन्यास सार्वजनिक गरे । 

भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा उपन्यासको कथा बुनिएको छ । काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा अकादमी पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा वशिष्ठले पुस्तकले आफ्नो बाल्यकाल सम्झाएको बताइन् । उनले भाषा जातीयताको पहिचान रहेको र फातसुङले त्यसलाई प्रस्ट्याउने बताइन् । ‘तिनले मात्र क्रान्ति गर्न सक्छन्, जोसँग पेट छैन भन्ने दृष्टिकोणलाई समेत पुस्तकले उजागर गर्न खोजेको छ’, उनले भनिन् ।

‘भाषा र क्रान्तिको सम्बन्ध धेरै गहिरो छ । राजनीतिक चेतनाको सूत्रधार हो, भाषा । र कतिपय अवस्थामा जनताको राजनीतिक चेतना अपूर्ण रहेकै कारण क्रान्ति तुहिएका छन् । त्यसैले गर्दा फातसुङ जस्ता लोकभाषी पुस्तकको महत्ता दूरगामी छ’, पुस्तकबारे वशिष्ठको टिप्पणी यस्तो थियो । 

पुस्तकमा ठेट भाषाले महत्व पाएको छ । भाषामा समृद्धिका लागि फातसुङ जस्ता पुस्तकले महत्वपूर्ण योगदान दिन सक्ने वशिष्ठले बताइन् । ‘यसले लोकभाषालाई जीवन्त राख्न पनि सघाउने उनको भनाइ छ । यो पुस्तकले त्यस्तो कथा बोक्छ, जसले धारा १४४ र गाउँमा आउने धाराको फरकपन छुट्याउन सक्दैनन्’, उनले भनिन् । 

अर्का वक्ता संग्रौलाले सानो कलेवरमा आएको यो पुस्तकले धेरै ठूलो कथा बोकेको बताए । साथै दार्जीलिङको माटोको कथालाई जीवन्त रुपमा देखाएको उनको भनाइ छ ।   

‘यो पुस्तकमा बोल्न नपरेको भए, म आज अपरेसन थिएटरमा हुने थिएँ’, संग्रौलाले भने, ‘तर पुस्तकमा बोल्नुपर्ने भएपछि मैले सोमबारलाई अपरेसनको समय मिलाएँ ।’ यसबाट पनि यो पुस्तकको महत्ता बुझ्न गाह्रो छैन । दार्जीलिङको कथा बोके पनि यो उपन्यासले नेपालको अवस्थालाई समेत बुझ्न सघाउने संग्रौलाको भनाइ छ । 

लेप्चा समुदाय यो पुस्तकको नायक हो । नेपालमा राजनीतिक क्षेत्रमा चटके रहेजस्तै गोर्खाल्यान्ड आन्दोलनमा पनि त्यस्ता पात्र रहेको उनले बताए । पुस्तकले यहाँका पात्रहरुको पहिचानलाई पनि उत्तिकै प्राथमिकतासाथ समेटेको संग्रौलाको भनाइ छ । यहाँ ठूलो पात्र अर्थात् गोर्खाल्यान्डको नेतालाई मात्र प्राथमिकता दिइएको छैन । 

उनले भने, ‘छुदेन काविमोको ‘फातसुङ’ गोर्खाल्यान्ड आन्दोलनका रक्तरञ्जित सपनाहरुको कारुणिक र त्रासद अभिलेख हो । आकारमा सानो, अर्थमा ठूलो आम मानिसको एक जीवन्तकथा । सरल वृत्तान्त र चित्रमयभाषाको सुन्दर समिश्रण । रुचिकर र आनन्दमयी ।’

लेखक काविमोले उपन्यासको पृष्ठभूमिबारे बताए, ‘फातसुङ दार्जीलिङको कथा हो । १९८६ मा पहिलो चोटि अलग राज्यको माग गर्दै दार्जीलिङमा गोर्खाल्यान्ड आन्दोलन भएको थियो । त्यस आन्दोलनमा सयौँ मान्छे मारिए । त्योभन्दा ठूलो कुरा हजाराैँ मान्छेको सपना भत्काइयो । फातसुङ त्यही सपनाहरुको कथा हो । १९८८ सालमा गोर्खाल्यान्ड आन्दोलन दार्जीलिङ गोर्खा हिल काउन्सिलसँगको सम्झौतामा पुगेर टुङ्गियो, त्यसपछि जुन राजनीतिक संस्कार दार्जीलिङमा सुरू भयो, त्यो निकै भयानक छ अनि म त्यही राजनीतिक संस्कारबीच हुर्किएको मान्छे हुँ । यो कथा त्यही समाजको कथा हो । ‘नेप्टी चेप्टी दार्जीलिङ कस्तो छ ? दार्जीलिङ शहर बत्तीको लहर वैकुण्ठजस्तै छ । के आजको दार्जीलिङ यो गीत जस्तै छ ता ?’ वा दार्जीलिङको कथा अरु नै केही छ ता ? त्यही देखाउने कोसिस उपन्यासमार्फत गर्न चाहेको छु ।’

प्रकाशक अजित बरालले भने, ‘काविमोको लेख शैली यति विशिष्ट, यति पृथक छ किफातसुङको पहिला दुई पेज पढ्नेबित्तिकै अति उत्साहित भएर मैले लेखकलाई फोन गरेको थिएँ र भनेको थिएँ, ‘उपन्यास राम्रो होला जस्तो छ !’ अनि पछि पढ्दै गएपछि त कायलै भएको थिएँ । मलाई लाग्छ, यो उपन्यासले नेपालीभाषी भारतीय लेखकहरुको पुस्तकप्रति हाम्रो रुचि जगाउनेछ ।’

फातसुङ लेप्चा शब्द हो । यसको शाब्दिक अर्थ हुन्छ— माटोको कथा ।

फातसुङ धरतीको कथा हो । अर्थात् दार्जीलिङको कथा । यो दार्जीलिङका निम्ति लड्ने दर्जनौं युवाको कथा हो, जसका सपना हराएका छन् । यो ती सुस्केराहरुको कथा हो, जसले आफ्ना उमेर गुमाएका छन् । यो एउटा सहिद सपना पनि हो, जसका निम्ति हजार जीवन चढाइएको छ ।

ठेट दार्जीलिङे लवजमा लेखिएको फातसुङ जातीय पहिचानका लागि गरिएको आन्दोलन चियाउने एउटा सुन्दर आँखीझ्याल हो । नेपाली बोलिने भारतीय भेगबाट पछिल्लो समयमा आएको सशक्त उपन्यास हो, यो ।  

उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ३०० रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया