कुलमान घिसिङ र शेरधन राईको पहलमा कोशी करिडोरको अवरोध हट्यो, बिजुली खेर जाने चिन्ता सकियो

 चैत २४, २०७५ आइतबार १३:१०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनसरीको धरान उपमहानगरपालिकाले कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा गर्दै आएको अवरोध हटेको छ । उपमहानगरपालिकाले गएको मंसिरदेखि गर्दै आएको अवरोध हटेपछि बिहीबारदेखि विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको काम सुरु भएको छ । 

आयोजनाको प्रस्तावित रुटबाटै प्रसारण लाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम सुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिनुभयो । ‘१७ वटा टावर निर्माणमा अवरोध थियो, पटकपटक भएको छलफलबाट वडाध्यक्षलगायत प्रस्तावित रुटबाटै प्रसारण लाइन लैजान दिन तयार भएपछि निर्माण सुरु गरिएको छ, प्रभावलाई न्यूनीकरण गर्न आयोजनाले स्थानीय रुपमा गर्न सक्ने सामुदायिक विकासका कार्यक्रमहरु सञ्चालन गरिने छ’ उहाँले भन्नुभयो ।

समस्या समाधानका लागि १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले पहल गर्नुभएको थियो । उहाँले उपमहानगरपालिका प्रमुख, वडाध्यक्ष, त्यस क्षेत्रका संघ तथा प्रदेशका सांसद लगायतसँग पटकपटक छलफल गर्नुभएको थियो । उहाँले प्रसारण लाइन रहने क्षेत्रको स्थलगत निरीक्षणसमेत गर्नुभएको  थियो ।

धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गएको मंसिर २८ गते प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरिएमा उपमहानगरपालिका–२०को विष्णुपादुका क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थलहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई लिखित रुपमै आग्रह गर्नुभएको थियो । त्यसपछि आयोजनाको निर्माण रोकिएको थियो ।

प्राधिकरणले उपमहानगरपालिकाले भनेजस्तो कुनै प्रसारण लाइनल असर  कुनै असर नपर्ने, निर्माण ढिलाइ भएमा प्रसारण लाईनको निर्माणमा ढिलाई भएमा अहिले निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने अनुमानित ५ सय ५० मेगावाट विद्युत खेर जाने अवस्था आउने, यसबाट राष्ट्रलाई क्षति पुग्ने, प्रवर्द्धकहरुलाई क्षतिपूर्ति लगायतको अवस्था रहेको भन्दै रुट परिवर्तन गर्न अस्वीकार गर्दै आएको थियो । 

उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर नगर्ने, असर पर्ने केही क्षेत्रहरुलाई लाईनको चेक सर्भे गर्ने क्रममा संबोधन गरिसकिएको र सम्पूर्ण प्रकृया पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने अडान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राख्दै आउनुभएको थियो । 

गएको पुसमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा धरानमा भएको सरोकारवालाको भेलाले समस्या पहिचान गरी र समाधानका उपाय खोज्न कार्यदल गठन गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठित कार्यदलमा कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति,ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक/एक जना प्रतिनिधि थिए । कार्यदलले रुट परिवर्तन गर्न नसकिने प्रतिवेदन दिएको थियो । तर, यसमा राजनीतिक दल र सरोकार समितिका प्रतिनिधिले हस्ताक्षर गरेका थिएनन् ।  

प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरिएको छ । अब यही रुट हुँदै प्रसारण लाइनको निर्माण हुनेछ । 

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गर्न लागिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्था छ । 

करिडोरको पहिलो प्याकेजमा इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण जुन २०१९ मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । 

३२० वटा टावरमध्ये २१० वटाको जग हालिएको र ९० वटा खडा गरिसकिएको आयोजना प्रमुख ढकालले जानकारी दिनुभयो । अब केही दिनमै तार तान्न पनि सुरु हुने उहाँले बताउनुभयो । यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ ।

दोस्रो प्याकेजको इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२०मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । २ करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२०मा सक्ने लक्ष्य राखिएको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया