एफए कपको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोेर्ड खेल्ने

 चैत २५, २०७५ सोमबार ७:२१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस एफए कपको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोेर्ड आमने सामने हुने भएका छन् । उल्भरह्याम्प्टनविरुद्ध नाटकीय पुनरागमनसहितको जित निकाल्दै वाटफोर्डले उपाधिका लागि सिटीसँगको भेट पक्का गरेको हो ।

वेम्बली रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा २ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै वाटफोर्डले अतिरिक्त समयमा ३–२ गोलअन्तरको जितका साथ फाइनल पुगेको हो ।

खेलको ३६ औं मिनेटमा म्याट डोहर्टीले गोल गरेपछि उल्भरह्याम्प्टनले पहिलो हाफमा अग्रता बनाएको थियो । ६२औं मिनेटमा राउल जिमिनेजले अग्रता दोब्बर पारेसँगै खेल उल्भरह्याम्प्टनको पक्षमा देखिसकेको थियो ।

६६औं मिनेटमा वाटफोर्डका प्रशिक्षक जाभी ग्यारीकाले विल ह्युजको स्थानमा स्पेनिस स्ट्राइकर डोलेफुलाई मैदान छिराए ।

उनको निर्णय यति प्रभावकारी भयो कि डोलेफुले ७९औं मिनेटमा गोल गरी वाटफोर्डको आशा जगाए । खेलको इन्ज्यूरी समयमा हारको नजिक रहेको वाटफोर्डले पेनाल्टी पायो । जसलाई ट्रोय डीनीले सदुपयोग गरी खेल बराबरीमा ल्याए ।

निर्धारित समयमा २–२  गोलको बराबरी खेलेपछि थपिएको अतिरिक्त समयमा डोलेफुले नै गोल गरे र टिमलाई सन् १९८४ पछि पहिलो पटक एफए कपको फाइनलमा पुर्याए । उनले १०४ मिनेटमा गोल गरेका थिए । यता सन् १९६० पछि एफए कपको फाइनल पुग्ने लक्ष्यमा रहेको उल्भरह्याम्प्टन भने अभागी सावित भयो ।

वाटफोर्ड र म्यानचेस्टर सिटीबीचको फाइनल खेल मे १८ मा हुनेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया