पाँचथर गोल्डकप : न्यू स्टार क्लबलाई हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा

 चैत २८, २०७५ बिहिबार २०:१९:२० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – फिदिममा जारी तेस्रो संस्करणको आमन्त्रित पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा  हिमालयन शेर्पा क्लब काठमाण्डौ अन्तिम चारमा प्रवेश गरेको छ ।

फिदिम माविको खेल मैदानमा बिहीबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा न्यू स्टार क्लब सुनसरीलाई ४–३ गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा हिमालयनको तर्फबाट ९ औँ मिनेटमा क्याप्टेन मानबहादुर तामाङले पहिलो गोल गरे । यस्तै विदेशी खेलाडी ड्याडी वान्बाले २ गोल गरे । उनले १३ र २५ औँ मिनेटमा गोल गरे भने ६७ औँ मिनेटमा विजय श्रेष्ठले एक गोल थपे ।

सुनसरीको तर्फबाट ३९ औँ, ७२ औँ र ८२ मिनेटमा क्रमशः तिर्थ बस्नेत, दिनेश राई र रोसन भुजेलले एक÷एक गोल गरे । हिमालयनका ड्याडी खेलको म्यान अफ् द म्याच घोषित भए । उनले नगद पाँच हजार पाए ।

बिहीबारको खेलसँगै पाँचथर गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि डीएफसी मोरङ, दार्जीलिङ युनाइटेड भारत र विजय युथ क्लब, हेटौँडा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो सेमिफाइनल खेलमा डीएफसी मोरङ र विजय युथ क्लब हेटौडाबीच प्रतिस्पर्धा हुनेछ ।

वैशाख २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद चार लाख तथा उपविजेता हुने टिमले नगद नगद २ लाख पाउनेछ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया