२०७५ मा खेलकुद क्षेत्र: यस्ता रहे उतार चढाव

 चैत ३०, २०७५ शनिबार १८:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २०७५ लाई बिदा गरेर नयाँ वर्ष २०७६ लाई स्वागत गर्न लागिएको छ । २०७५ सालमा नेपाली खेलकुद क्षेत्रले उल्लेख्य सफलता हासिल गरेको छ ।

जसमा एसियाडमा रजत पदक आयाे, अजित कुमार यादवले ४५ वर्ष लामो अन्तर्राष्ट्रिय एथ्लेटिक्समा पदकको खडेरी तोड्दै स्वर्ण पदक दिलाए भने नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले विश्वस्तरमा नेपालको नाम चिनाउँदा नेपाली पुरुष क्रिकेट टिमले एक दिवसीय सिरिज जित्नुका साथै महिला क्रिकेट टिमले स्म्यासको उप-विजेता बन्न सफल भयो ।

यसैगरी अन्तर्राष्ट्रिय मैदानमा नेत्रहीन महिला क्रिकेटले पनि आफूलाई परिचित बनाए । पहिलो अन्तर्राष्ट्रिय सहभागिता जनाएको नेपालले पाकिस्तानबाट सिरिज जितेर फर्किएको छ । 

वर्ष २०७५ मा नेपालले आईसीसीबाट एक दिवसीय मान्यता पाएपछि गएकाे भदौमा नेदरल्याण्ड्सविरुद्ध पहिलो एक दिवसीय सिरिज खेल्यो । उक्त सिरिज बराबरी गर्दै घर फर्किएको नेपालले माघमा यूएईविरुद्धको सिरिज कब्जा गर्न सफल भयो ।

सिरिजमा रोहित पौडेल र पवरन शर्राफले विश्व कीर्तिमान बनाउँदा कप्तान पारस खड्काले पनि देशका लागि शतक पनि बनाए । यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज २–१ ले जित्दै पहिलो एक दिवसीय सिरिज नेपालले २०७५ सालमै घर लिएर आयो ।

क्रिकेटकै कुरा गर्दा लामो समयदेखि रोकिएको तलब खेलाडीले पाए । तर यो वर्ष पनि नेपाल क्रिकेट संघ क्यानको विवाद समाधान भएन । जसका कारण अझै आईसीसीबाट निलम्बन फुकुवा भएको छैन् । जसले गर्दा नेपालमा लोकप्रिय अवस्थामा रहेको क्रिकेट खेलको विकासमा असर परि रहेको छ भने खेलाडीको व्यवस्थापन देखि अन्य कुराहरुमा अरुकै भर पर्नु पर्ने अवस्था आएको छ । आशा छ अहिले क्यान निलम्बनका प्रक्रियाहरु अघि बढेकाले वर्ष २०७६ मा यसले पक्कै पनि सफलता हात पार्ने छ।

नेपाली क्रिकेटमा सन्दीप लामिछाने वर्ष २०७५ मा चम्किलो ताराको रुपमा उदाए । २०७५ मै इण्डियन प्रिमियर लिगमा तत्कालिन दिल्ली डेयर डेभिल्सबाट डेब्यु गरेका सन्दीपले त्यस यता विश्वका थुप्रै फ्रेन्चाईज क्रिकेट खेले । उनको उम्दा प्रदर्शनका कारण यसै वर्ष ५० विकेट लिने कीर्तिमान पनि बनाएका छन् । टी–२० मा सन्दीप ५० विकेट लिने नेपालको पहिलो खेलाडीको रुपमा चिनिए ।

यसबीचमा क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्याश लिग, बंगलादेश प्रिमियर लिग र पाकिस्तान प्रिमियर लिग खेलेर ४० खेलमा ५० विकेट पूरा गरेका हुन् । यसैवर्ष तीन वटा घरेलु प्रतियोगिताहरु सम्पन्न भए । धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिगले नेपाली क्रिकेटमा उल्लेख्य योगदान गरेका छन् ।

पहिलोपल्ट अक्सनमा आधाररित महिला फ्रेन्चाइज क्रिकेट लिगको २ प्रतियोगिता घोषणा भएकोमा एउटाको अक्सन पनि सम्पन्न भइसकेको छ । जुन नेपाली महिला क्रिकेटका लागि सुखद् सम्भावना बोकेर अघि आएको छ । 

प्याराग्लाइडिङतर्फ एसियाडमा नेपालले ऐतिहासिक रजत पदक पनि हात पार्न सफल भयो । सन् १९९८ को एसियाली खेलकुदपछि नेपालले एसियालीस्तरको प्रतियोगितामा रजत जितेको पहिलो पटक जितेको हो ।

त्यतिबेला तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् । राज्यको लगानी नपरेको, नयाँ तर खर्चिलो खेलमा सहभागिता जनाएर नेपाली खेलाडीले आफूलाई प्रमाणित गरे । पुरुष क्रसकन्ट्रीको टिम स्पर्धामा नेपाल जापानसँग झिनो अन्तरमा पराजित हुँदै स्वर्ण पदक गुमाउनुपरेको थियो । विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ, विशाल थापा र बिमल गौतमको नेपाली टोलीले पदक जितेपछि नेपाल इण्डोनेसियाबाट खाली हात फर्कनु परेन । 

एसियाली खेलकुदमा नेपालबाट २७ खेलका १८७ खेलाडीको सहभागिता थियो । ठूलो टिम भएपछि नेपालले सरकारी तवरबाट हेपिएको र प्रतियोगिताअघि आशा नगरिएको प्याराग्लाइडिङबाट मात्र पदक आयो ।

नेपाल एथ्लेटिक्स संघको विवाद र अन्यौलबीच सहभागिता जनाएका अजित कुमार यादवले हंगकंगमा भएको एसियाली जुनियर एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि खेलकुद एकाएक तरंगित भएको । भारत, जापान, कम्बोडियाका धावकहरुलाई पछि पार्दै ३ हजार मिटर स्पर्धामा जितेको स्वर्ण नेपाली एथ्लिटले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको सबैभन्दा ठूलो पदक हो । उनले पदक जितेसँगै यसअघि फुटबल र क्रिकेटमा मात्रै निजी क्षेत्रले पनि एथ्लेटिक्समा प्रायोजन गर्न थालेका छन् । 

यसै वर्ष नेपाली फुटबलले नयाँ नेतृत्व पायो । २२ वर्षदेखि गणेश थापा र उनका विश्वास पात्रको नजिकमा रहेको नेतृत्व कर्माछिरिङ शेर्पाको नेतृत्वमा आयो । एन्फामा आमूल परिवर्तन गर्ने उद्घोष सहित चुनावी मैदानमा आएका शेर्पाले चुनाव जितेपछि उनले गरेको प्रतिबद्धताहरु पुरा हुने चरणमा रहेका छन् । उनले भनेको नेपाली फुटबल लिग पाँच वर्षपछि शुरु भयो ।

विगतमा विवादका कारण हुन नसकेको लिग पाँच वर्ष पछि रेलिगेशन विना नै सञ्चालन भयो । लिग सञ्चालन हुँदा चर्को ओलचना भए पनि नेपाली फुटबल खेलाडी र खेलको विकासका लागि रेलिगेशन नभए पनि लिग संचालन हुनुलाई एन्फाले सफलताको रुपमा लिएको छ । ए डिभिजन लिग असोजदेखि पुससम्म आयोजना भयो । मनाङ मस्र्याङदीले आठौंपल्ट लिग जित्यो । 

नेपालमै पहिलोपटक महिला फुटबलको अन्तर्राष्टिय प्रतियोगिता साफ च्याम्पियनसिप सम्पन्न भयो । त्यो पनि मोरङको विराटनगरमा । काठमाडौंबाहिर अन्तर्राष्टिय प्रतियागिता आयोजना भएको यो पहिलोपल्ट थियो र सफल आयोजनाले भविष्यका लागि पनि २०७५ सालमै बाटो खुलेको छ ।

नेपाली टोली फेरि फाइनलमा पुगेर भारतसँग पराजित भयो । नेपाल फाइनलमा हारेको चौथोपल्ट थियो भने भारतले उपाधि जितेको पाँचौंपल्ट थियो । पुरुष साफ च्याम्पियनसिप यसै वर्ष बंगलादेशमा सम्पन्न भयो । समूह चरणमा घरेलु टोली बंगलादेशलाइ हराएर सेमिफाइनलमा पुगेको नेपाल माल्दिभ्ससँग पराजित भयो ।

साफ च्यामिपयनसिप भारतले जित्यो । महेश्वर महर्जनले विश्व बडिविल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेपछि राज्यको लगानीबिना आएको पदकको सबैले तारिफ गरे । त्यसो त शारीरिक सुगठन आधिकारिक खेलकुदमा पर्दैन । यद्यपी आफ्नै खर्च र लगावले स्वर्ण पदक जित्नु चानेचुने कुरा होइन । 

नेपाली खेलकुदका विवादहरु पनि समाधान हुने क्रममा रहेका छन् । यसअघि चर्को विवाद रहेका कराँते, जिम्न्याष्टिक, कबड्डीका विवादहरु यसै वर्ष समाधान भए । क्रिकेटको विवाद अदालतमा पुगे पनि मुद्दा फिर्ता लिने सहमति भइसकेकाले २०७६ को सुरुमै समाधान हुने अपेक्षा गरिएको छ । 

२०७५ साल राष्ट्रिय खेलकुद आयोजनाका हिसाबले पनि सम्झना योग्य भएको छ । प्रदेश पाँचमा २०७६ को वैशाख ५ गते उद्घाटन हुने भए पनि त्यसका खेलहरु भने चैतमै शुरु भएको छ । योसँगै हरेक दुई-दुई वर्षको अन्तरालमा राष्ट्रिय खेल आयोजना गर्न सकिन्छ भन्ने उदाहरण पनि बनाएको छ ।

यसैगरी पूर्वाधार निर्माणका हिसाबले पनि २०७५ सम्झनलायक भएको छ । २०७२ सालमा गएको भूकम्पका कारण क्षतिग्रस्त भएको दशरथ रंगशालाको औपचारिक पुनर्निर्माण यसै वर्ष सुरु भयो भने यो २०७६ को आषाढ मसान्तभित्र पूरा हुनेछ ।

यसैगरी नेपालले २०७६ मा १३ औं दक्षिण एशियाली खेलकुद साग आयोजना गर्ने जिम्मेवारी लिएको छ । जसका लागि मंसिरमा गर्ने भनेर मिति तोकिएको छ भने त्यसका लागि पूर्वाधार निर्माणको काम पनि भइरहको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया