टोटनह्याम च्याम्पियन्स लिगको सेमिफाइनलमा, म्यानचेस्टर सिटी स्तब्ध

 बैशाख ५, २०७६ बिहिबार ८:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

अवे गोलमा म्यानचेस्टर सिटीलाई पाखा लगाउँदै टोटनह्याम च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । टोटनह्याम ५७ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।
 
घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले टोटनह्यामलाई चार तीन गोलले हराएपनि पहिलो लेगमा एक शून्यको हारले सिटीलाई ठूलो नोक्सानी भयो । जसका कारण सिटी अवे गोलमा पछि पर्दै च्याम्पियन्स लिगबाट बाहिरियो । टोटनह्याम च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको यो दोस्रो पटक हो । 

गोलको वर्षा भएको खेलको चौथो मिनेटमा नै पउल स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर त्यसको तीन मिनेटमा टोटनह्यामले खेल बराबरी गर्‍यो ।

१० औं मिनेटमा टोटनह्यामले गोल गर्दै खेलमा अग्रता लियो । उसका लागि दुवै गोल सन ह्युङ मिङले गरेका थिए । तर त्यसको एक मिनेटपछि नै बेर्नान्डो सिल्भाले गोल गर्दै खेललाई दुई–दुईको अवस्थामा पुर्‍याए । 

२१ औं मिनेटमा सिटीले फेरि खेलमा अग्रता बनायो । उसका लागि पउलले नै गोल गरे । पहिलो हाफ तीन दुईको अवस्थामा सकिएको खेलको ५९ औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै सिटीलाई चार दुईको अवस्थामा पुर्‍याए । तर ७३ औं मिनेटमा लोरेन्टले टोटनह्यामका लागि गोल गरेपछि खेल चार तीनको अवस्थामा पुग्यो । 

त्यसपछि दुवै टिमबाट थप गोल भएन र टोटनह्यामले पहिलो लेगमा हात पारेको एक शून्यको जित उसलाई सेमिफाइनलमा पुग्न भाइटल बन्यो । समग्रमा खेल चार चारको अवस्थामा पुगेपछि अवे गोलमा टोटनह्यामले च्याम्पियन्स लिगमा ऐतिहासिक सफलता हात पार्‍यो ।
 
टोटनह्याम यसअघि १९६१ र ६२ को सिजनमा सेमिफाइनलमा पुगेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया