ममाथि लागेको आरोप पुष्टि गर्न सबैलाई आह्वान गर्छु : नेकपा महासचिव पौडेल

 वैशाख ६, २०७६ शुक्रबार १८:५२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आफूमाथि लागेको आरोप पुष्टि गर्न सबैलाई आह्वान गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको ललिता निवासको जग्गाको विषयमा आफूमाथि अनर्गल आरोप लगाइएको भन्दै त्यसको पुष्टि गर्न विज्ञप्तिमार्फत उहाँले आह्वान गर्नुभएको हो । 

सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै उहाँले ललितानिवास परिसरको कित्ता नं. ३०९ को आठ आना जग्गा आफ्नो छोरा नवीन पौडेलको नाममा कानुनबमोजिम नै खरिद गरिएको बताउनुभयो ।  

मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरेपश्चात उमा ढकाल र माधवी सुवेदीको नाममा रहेको जग्गा आफूहरुले लिखत पारित गरी लाग्ने राजश्व बुझाएरै खरिद गरेको उहाँले बताउनुभयो । 

सरकारी जग्गा हडप्ने मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै पनि कार्यमा आफू र आफ्नो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै पनि नरहने पनि उहाँले अवगत गराउनुभएको छ । सरकारी जग्गा हडप्नेजस्ता अपराधजन्य गतिविधि आफूले सोच्नसमेत नसक्ने उहाँले प्रष्ट पार्नुभयो । 

२०६१ पुस २९ गते जग्गा खरिद गरेको र त्यो बेला आफू मन्त्री, सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । 

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १० साविक तिलकपुर गाउँ विकास समिति, वडा नम्बर–३) स्थित श्रीमतीको नाममा रहेको ८ कट्ठा जग्गा २०६१ असोज २४ गते बिक्री गरी प्राप्त स्रोतबाट ललिता निवासको ८ आना जग्गा खरिद गरिएको पनि उहाँले खुलाउनुभयो । 

संविधानसभा सदस्यमा २०६४ सालमा रुपन्देही जिल्लाबाट निर्वाचित भएपश्चात् ललिता निवासको जग्गाबारे वार्षिक सम्पत्ति विवरणमा उल्लेख गर्दै आएको पनि उहाँले बताउनुभयो । 

बालुवाटारको जग्गा हिनामिनाका सम्बन्धमा सरकारले आवश्यक कमद चालिसकेको भन्दै उहाँले सरकारले चालेको कदमलाई पनि स्वागत र समर्थन गर्नुभएको छ । 

गैरकानुनी रुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैरकानुनी रुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्न र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने प्रणालीलाई सुदृढ गर्न सरकारले चालेको कदमलाई सँधै सहयोग गर्ने पनि उहाँले बताउनुभयो । 
ललिता निवासले चर्चेको जग्गा हिनामिनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा सरकारी सम्पत्ति रहेको ललितानिवासले चर्चेको जग्गा व्यापारी र भूमाफियाले प्रतिआना ७ लाखमा किनबेच गरेको तथ्य खुलेको थियो । जग्गा किनबेचमा सत्तारुढ दलकै महासचिव पौडेलको समेत जग्गा रहेको देखिएपछि व्यापक विरोध भइरहेको छ । 

विष्णु पाैडेलले निकालेकाे विज्ञप्ति


 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sagar

    May 28, 2019, 1:18 a.m.

    सिआइबि र पुलिसलाई चामल केलाउन पठाए भयो नि , हामी जनताले अनुसन्धान गर्न पर्ने भएपछि /

  •  0 Reply

तपाईको प्रतिक्रिया