पञ्जाबविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन : क्रिस गेलसहित महत्वपूर्ण तीन विकेट लिए

 बैशाख ७, २०७६ शनिबार २१:३९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दीप लामिछानेले किंग्स इलाभेन पञ्जाबविरुद्ध तीन विकेट लिएका छन् ।

पञ्जाबविरुद्धको खेलमा ५ खेलपछि टिममा परेका सन्दीपले आफ्नो पहिलो ओभरमा नै विकेट लिए । टिमको दोस्रो तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै केएल राहुलबाट छक्का खाएका थिए । तर त्यसपछि डट फालेका सन्दीपले तेस्रो बलमा चौका खाए । चौथो बलमा सन्दीपले टिमका लागि पहिलो सफलता दिलाए । उनले राहुललाई १२ रनमा पेभेलियनको बाटो देखाए । त्यसपछि उनले बाँकी दुई बलमा एक रन मात्र दिए ।

पहिलो ओभरमा ११ रन दिएका सन्दीपले दोस्रो ओभरमा १६ रन दिए । उनको ओभरमा क्रिस गेलले चार चौका प्रहार गरे ।

टिमको १३ औं तथा व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले दुई विकेट लिए । पहिलो बलमा नै उनले छक्का खाए । उनलाई क्रिस गेलले छक्का प्रहार गरे । तर दोस्रो बलमा सन्दीपले गेललाई पेभेलियनको बाटो देखाए । छक्का प्रहार गर्न खोजेका गेल ६९ रनमा क्याच आउट भए । लगभग छक्का भएको त्यो बललाई कोलिन इन्ग्राम र अक्षर पटेल मिलेर गेललाई आउट गरेका थिए ।  त्यसपछि सन्दीपले साम कुरानलाई खाता खोल्न नपाउँदै आउट गरे ।

सन्दीपले आफ्नो अन्तिम ओभरमा ७ रन दिए  । सन्दीपको अन्तिम बलमा पञ्जाबका मन्दीप सिंहको क्याच कागिसो रबाडाबाट ड्रप भयो । चार ओभर बलिङ गरेका सन्दीपले महत्वपूर्ण तीन विकेट लिँदै ४० रन खर्चिए । 
 

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया