शिक्षक भट्याउने र विद्यार्थीले सुन्ने संस्कारको अब अन्त्य हुनुपर्छ: शिक्षामन्त्री पाेखरेल

 बैशाख ११, २०७६ बुधबार २०:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सरकारले २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाउने बताउनु भएको छ । 

मन्त्रालयले बुधबार भक्तपुरको बोडेमा आयोजना गरेको सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले सार्वजनिक विद्यालयको जिम्मेवारी स्थानीय सरकारलाई दिएकाले त्यसका लागि प्रदेश र संघीय सरकारले सहयोग र समन्वय मात्रै गर्ने बताउनुभयो ।

‘कक्षाकोठाकाे सिकाइमा सुधार नआएसम्म बाहिरी आवरण चिटिक्क बनाउँदैमा नतिजा राम्रो नआउने बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, शिक्षक भट्याउने र विद्यार्थीले सुन्ने संस्कारको अब अन्त्य हुनुपर्छ, विद्यार्थीलाई असल आचरण, आफ्नै प्रयासबाट सिक्ने संस्कारको विकास गर्नु आवश्यक छ ।’

उहाँले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तीनवटै तहको सरकार, अभिभावक, शिक्षक, व्यबस्थापक, गैरसरकारी संघसंस्था लगायत सबैको सहयोग आवश्यक रहेको औंल्याउँदै सरकारले एक विद्यालय एक बालविकास केन्द्रको अवधारणा ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘एकले अर्कोलाई दोषारोपण गरेर नभइ सृजनात्मक सहकार्य र साझेदारीबाट अग्रगामी धक्का दिँदै सामुदायिक विद्यालयलाई विकासमा लैजान सक्छाैं ।’

बाल विकासलाई आकर्षक एवं मनोरञ्जनात्मक शैक्षिक पद्धतिमा लैजानुको साथै शिक्षिकालाई मन्टेश्वरी तालिम प्रदान गर्ने, कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम वैशाखबाट लागु गर्ने उहाँको भनाइ छ । मन्त्री पोखरेलले विद्यालयमा डिजिटल पाठ्यसामाग्रीको विकास गर्ने, राष्ट्रभाषामा अध्ययन गराइने, शिक्षक तालिम तथा पेशागत विकास र पुरस्कारको व्यवस्था गरिने बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया