खुलामञ्चको जग्गामा अस्थायी सटर बनाउने अनुमति दिइएकाे छैन : प्रवक्ता तामाङ

 बैशाख १२, २०७६ बिहिबार १८:५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

‍काठमाण्डाै - सरकारले खुलामञ्चको जग्गामा अस्थायी सटर बनाउने अनुमति नदिइएको पनि स्पष्ट पारेको छ ।

बिहीबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँगै पत्रकार सम्मेलनमा सहभागी हुनु भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले खुलामञ्चको जग्गा अतिक्रमण गरेर अस्थायी सटर बनाउने अनुमति नदिइएको प्रष्टयाउनु भएको हो ।

काठमाण्डाै महानगरपालिकाका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसमेत रहनु भएका उहाँले तीनकुनको जग्गामा बसपार्क बनाउने निर्णय जग्गा विवादका कारण ढिलाइ भएपछि खुलामञ्चको जग्गामा बसपार्क सञ्चालन गर्न अस्थायी रुपमा अनुमति दिइएको पनि स्मरण गराउनु भयो । मन्त्री बाँस्कोटाले भने त्यस सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताउनु भएको थियो ।

स्थानीयवनसीले खुला मञ्चको जग्गा अतिक्रमण गरी अस्थायी सटर बनाउन दिएको भन्दै विरोधमा बिहीबारदेखि आन्दोलन सुरु गरेका छन ।

बिहीबार बिहान खुलामञ्चमै उपस्थित भएर विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले त्यहाँ बनाएका सटरहरु पनि बन्द गराएका थिए । खुला मञ्च खुला गर्न काठमाण्डाै महानगरपालिकासँग माग गर्दै उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए महानगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन ।

खुलामञ्च अतिक्रमण हुँदा पनि काठमाण्डाै महानगरपालिकाले वास्ता नगरेपछि त्यसको विरोधमा स्थानीय आफैं आन्दोलनमा आउनु परेको असनका योगेशकुमार खड्गीले बताउनु भयो । उहाँले जनताबाट निर्वाचित निकाय काठमाण्डाैमहानगरपालिकाले समेत कमिशनमा खुला मञ्च अतिक्रमणमा सघाउ पुर्‍याएपछि स्थानीय जनता त्यसको विरोधमा स्वत:स्फूर्त सहभागी भएको पनि स्पष्ट पार्नु भयो ।

कांग्रेस नेता एवम् काठमाण्डाै क्षेत्र नम्बर ७ का सांसद भिमसेनदास प्रधानसहितको उपस्थितिमा भएको विरोध प्रर्दशनमा खुला क्षेत्र अतिक्रमण गरेर काठमाण्डाैमहानगरपालिकाले खुलामञ्चमा बसपार्क र सटर संचालन गर्न अनुमति दिएकोे भन्दै आक्रोश व्यक्त गरेका थिए । उनीहरुले खुला मञ्च अतिक्रमण गर्न दिएको भन्दै काठमाण्डाैमहानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको चर्को आलोचना गर्दै नाराबाजी गरेका थिए ।

काठमाण्डाै महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले खुला मञ्च अतिक्रमण गरी सटर बनाई व्यापारीहरुलाई भाडामा दिएपछि स्थानीय र सम्पदाप्रेमीहरुले  ‘खुला मंच खुला राखौं’ अभियान सुरु गरेका हुन ।

ठूलो क्षेत्रफलमा रहेको काठमाण्डाैको सबैभन्दा ठूलो खुला क्षेत्र खुलामञ्चमा हाल बसपार्क चलाइएको छ । पूरानो बसपार्कमा व्यापारिक टावर बनाउन दिएर काठमाण्डाैमहानगरपालिकाले खुलामञ्चलाई ठेकेदारको जिम्मामा छाडेपछि स्थानीय आक्रोशित हुँदै आएका छन ।

४० वटा नयाँ सटर निर्माण गरी नियम, मापदण्ड र सहमति विपरीतका गतिविधि त्यहाँ भएपछि त्यसको विरोध गरिएको हो । स्थानीयले सो सटर डोजर लगाएर नहटाएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन ।

स्थानीयले खुलामञ्च अतिक्रमण तत्काल रोक्न र त्यहाँ निर्माण गरिएका अस्थायी सटर तत्काल हटाउन माग गर्दै काठमाण्डाै महानगरपालिकाका मेयर शाक्यलाई ज्ञापन पत्र बुझाउने तयारी पनि गरेका छन ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया