च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
चीन – राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा बिहीबार सान्सी प्रान्तबाट राजधानी बेइजिङ आइपुग्नुभएको छ ।
उहाँलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ पराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ सुयानयु तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची र बेइजिङस्थित नेपाली राजदूतावासका कर्मचारीले स्वागत गर्नुभयो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल’ कोअपरेशन (अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी हुनुहुनेछ ।
उहाँले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहनुभएको छ ।
दुई हजार वर्षको सैनिक सङ्ग्रहालयको अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सियानस्थित माटोबाट बनेको सेनाको सङ्ग्रहालय ‘टेराकोटा वारियर्स म्युजियम’ अवलोकन गर्नुभएको छ । अवशेष प्रदर्शनमा विशिष्ट मानिने सो सङ्ग्रहालय आइपुग्दा राष्ट्रपति भण्डारीलाई प्रमुख पुरातत्वविद् होउले स्वागत गर्दै सङ्ग्रहालयका विषयमा जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो ।
योे सङ्ग्रहालयमा दुई हजार वर्षभन्दा पुराना माटाका मूर्ति छन् । ती किन्सिहुवाङको समाधिका रक्षकका रुपमा देखिन्छन् । समाधिमा दुई भाग छन् र ती बाहिरी र भित्री नगरका रुपमा छन् । दुवै नगर चतुर्भुज आकारका छन् । समाधिको भित्री भाग नगरको दक्षिणी भागमा छ । आरम्भमा सो समाधिको उचाइ ११५ मिटर रहेकामा दुई हजार वर्ष बित्दा हाल ७० मिटरमा खिइएको छ । समाधिमा करीब ५०० अन्य साना समाधि फेला परेका छन् ।
सम्राट् किन्सिहुवाङको समाधिबाट करीब १.५ किमी पूर्वमा माटाका सैनिक तथा घोडा छन् । सन् १९७४ मा किसानले इनार खन्दा माटाबाट बनेका कलाका अवशेष फेला पारेका थिए । पुरातत्वविद्को एक समूहले अनुसन्धान तथा उत्खनन् गर्दा ठूलो खाडल फेला पारेको थियो । त्यहाँ माटाका करीब छ हजार सैनिक तथा घोडा फेला परे ।
सन् १९७६ मा उनीहरुले यस्तै अन्य दुई खाडल फेला पारे । त्यसलाई खाडल १, २ र ३ को नाम दिइयो । ती माटाका सैनिक तथा घोडा जीवित आकारका छन् । ती सैनिकले काँसका हतियार लिएका छन् । सैनिक राम्रोसँग लामबद्ध छन् । त्यहाँ रथ, स्थलसैनिक, घोडचढी तथा सशस्त्र सैनिक सबै छन् ।
६५ दशमलव २५ वर्ग किमी क्षेत्रमा रहेको सम्राट्को सो समाधि बनाउन सात लाख २० हजार श्रमिकलाई ३७ वर्ष लागेको अनुमान गरिएको छ । यहाँ राजदरबार, नगरका पर्खाल तथा ढोका पनि छन् ।
अहिले यहाँ १४९ खाडल तथा १९६ समाधि फेला परेका छन् । सन् १९६१ मा यहाँको राज्य परिषद्ले सम्राट् किन्सिहुवाङको समाधिलाई प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थलका रुपमा घोषणा गरी यसलाई राज्यबाट संरक्षण दिएको थियो । सन् १९८७ डिसेम्बर ७ मा सो सङ्ग्रहालयलाई युनेस्कोले विश्व सांस्कृतिक सम्पदाका रुपमा घोषणा गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।