मनमाेहन अधिकारीकाे सपना पूरा गर्छाैँ : प्रधानमन्त्री ओली

 बैशाख १३, २०७६ शुक्रबार १४:३६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशमा विद्यमान समस्याको समाधान गर्दै ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानमा प्रतिबद्ध भएर लागि गरेको दाबी गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको उदाहरणीय कामलाई अघि बढाउँदै लैजान वर्तमान सरकार अग्रसर भैरहेको पनि बताउनुभयो ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवसको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशलाई समृद्ध बनाउने, नेपाल कम्युनिष्ट आन्दोलनलाई विजयको शिखरमा पुर्‍याउने मनमोहन अधिकारीको सपनाअनुसार नै आफ्नो पार्टी अघि बढिरहेको दाबी पनि गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको एकल कम्युनिष्ट नेतृत्वको पहिलो सरकारले आर्थिक विकास, सामाजिक सुरक्षाको सुप्रबन्धलगायतको क्षेत्रमा उदाहरणीय काम गरेर देखाएको पनि स्मरण गराउनु भयो ।

मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्ध भत्तालगायतका सामाजिक सुरक्षाको प्रबन्धलाई नेपालको इतिहासमै सबैभन्दा उदाहरणीय कामको रुपमा लिने गरिन्छ । प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारले देशको शान्ति सुरक्षा, परराष्ट्र सम्बन्ध, सामाजिक न्याय र समानताको पक्षमा खेलेको भूमिका पनि उल्लेखनीय रहेको बताउनु भयो । उहाँले मनमोहन अधिकारीलाई नेपालको अग्लो कम्युनिष्ट नेताको रुपमा चित्रण समेत गर्नु भयो ।

२०५१ सालमा नागरिकबाट निर्वाचित पहिलो कम्युनिष्ट पार्टी नेतृत्वको सरकार बनाउन सफल मनमोहन अधिकारीको नौ महिने कार्यकाललाई नेपालको इतिहासमै  लोकप्रिय सरकारको कार्यकालको रुपमा लिने गरिन्छ ।

'वृद्ध भत्ता, आफ्नो गाउँ आफै बनाऔंँ'जस्ता लोकप्रिय कार्यक्रममार्फत्  लोकप्रिय रहेका मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते अर्थात् आजकै दिन निधन भएको थियो ।

उहाँको स्मरणमा मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको त्यस कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले स्वर्गीय मनमोहन अधिकारीको शालिकमा माल्यार्पण समेत गर्नु भएको थियो ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया