बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

 बैशाख १५, २०७६ आइतबार ६:५८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

लियोनल मेस्सीले सब्सिच्युडका रुपमा मैदान छिरेर गोल गरेपछि लेभान्टेलाई हराउँदै बार्सिलोना तीन खेल अगावै ला लिगा च्याम्पियन बनेको छ ।

लेभान्टेविरुद्धको जितपछि बार्सिलोनाको ३५ खेलबाट ८३ अंक भएको छ । लिगमा ३ खेल बाँकी रहँदा उसले समान खेलबाट ७४ अंक बनाएको एट्लेटिको मड्रिडसँग स्पष्ट ९ अंकको अग्रता कायम गरेको छ ।

नाउ क्याम्पमा करिब ९२ हजार घरेलु समर्थक माझ मेस्सीले जारी सिजन लिगमा ३४ औं गोल खेलको ६२ औं मिनेटमा एलेक्स भिडालको पासमा गरे ।

फिलिप काउटिन्होलाई प्रतिस्थापन गरी मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । ला लिगामा मेस्सी सर्वाधिक गोलकर्ताको सूचिमा पनि १३ गोलको अग्रतामा छन् । रियल मड्रिडका करिम बेन्जेमा र बार्सिलोनाकै लुइस स्वारेज २१ गोलका साथ दोस्रो स्थानमा छन् ।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा बार्सिलोनाले सन् २००८/०९ को सिजनदेखि लगातार ला लिगा जित्न थालेको हो । बार्सिलोनाले पछिल्लो ११ सिजन आठौंपल्ट लिग जितेको छ भने पछिल्लो पाँच सिजनमा चौथोपल्ट जितेको छ ।

सन् २००५ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेल्न थालेका लियोनल मेस्सीका लागि भने यो नवौं लिग उपाधि हो ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया