प्रिमियर लिगमा नोरिच सिटीको पुनरागमन

 बैशाख १५, २०७६ आइतबार ७:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

घरेलु मैदान क्यारो रोडमा ब्ल्याकबर्न रोभसविरुद्ध २–१ गोलअन्तरको जित हासिल गरेसँगै नोरिच सिटीले प्रिमियर लिगमा पुनरागमन गरेको छ ।

पछिल्लोपल्ट सन् २०१५–१६ को सिजन प्रिमियर लिग खेलेको नोरिच त्यसयता पुनरागमनका लागि प्रयासरत थियो । यसपल्ट भने इंग्ल्याण्डको दोस्रो डिभिजनमा नोरिच शीर्ष स्थानमा छ ।

२४ टोली सम्मिलित च्याम्पियनसिप लिगमा ४५ खेल सकिँदा नोरिचले ९१ अंक जोडेको छ । दोस्रो स्थानको सेफिल्ड युनाइटेडको ८८ अंक छ । दुई टोली सिधै बढुवा हुने प्रावधानअनुसार नोरिचको स्थान निश्चित भइसकेको छ भने सेफिल्डका लागि अन्तिम खेल बराबरी काफी हुनेछ ।

लिगमा तेस्रो, चौथो र पाँचौं हुने टोलीबीच भने प्लेअफ हुनेछ र विजेता टोली प्रिमियर लिगमा बढुवा हुनेछ । प्रिमियर लिगमा हरेक वर्ष तीन टोली रेलिगेसनमा पर्नेछन् । च्याम्पियनसिपबाट तीन टोलीको पूर्ति गरिन्छ ।

ब्ल्याकबर्नबिरुद्धको खेलमा सबै गोल पहिलो हाफको २३ मिनेटभित्र सम्भव भएको थियो । मार्को स्टिपरम्यानले १३ औं र मारियो भ्रानकिकले २१ औं मिनेटमा गोल गरेपछि नोरिचले सुरुमै २ गोलको अग्रता बनायो । २३ औं मिनेटमा लेविस त्राभिसले एक गोल फर्काए पनि पाहुना टोलीले त्यसयता गोल गर्न सकेन ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया