‘दालभात तरकारी’ सबैले हेर्न मिल्ने चलचित्र हो : किरण केसी

 बैशाख १८, २०७६ बुधबार १८:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै- शुक्रबारबाट नेपालभर प्रदर्शनको तयारीमा रहेको चलचित्र हो, ‘दालभात तरकारी’ । मह सञ्चारले निर्माण गरेको चलचित्र भएका कारण पनि यसलाई विशेष चलचित्रको रुपमा हरिएको छ । 

यही सन्दर्भमा चलचित्रका प्रस्तुतकर्ता किरण केसीसँग चलचित्रका बारेमा केही जान्ने जमर्काे गरेका छौं । 

‘दालभात तरकारी’ मा यति धेरै कलाकारहरु हुनुहुन्छ, सुटिङमा गाह्रो भएन ?

त्यस्तो गाह्रो त भएन । सबैले माया गर्नुभयो । हामीले भनेका सबै कुराहरुलाई कसैले पनि नाइँ भन्नुभएन । आज भ्याइएन भोलि गरौँला, म सक्दिन भनेर कसैले पनि भन्नुभएन । त्यति मात्र होइन, हामीलाई भगवानले पनि साथ दिनुभयो किनभने कहिल्यै पनि पानी परेन । कुनै दिन बादल लागेन । हामीले सबैतिरबाट एकदमै राम्रो साथ सहयोग पायौँ । त्यसैले काम गर्न निकै सहज भयो ।

तोकिएकै समयमा छायाकंन सक्नुभयो त ?

हामीले लक्ष्य त ४५ दिनको राखेका थियौँ । तर ४५ दिनमा काम सम्पन्न भएन ५०-५१ दिनमा हामीले छायाकंन सक्यौँ । 

 सुटिङ लाेकसन कुन-कुन ठाउँ हुन् ?

काठमाण्डौ, चितवन र पोखरामा हामीले सुटिङ गरेका छौँ ।

सुनद केसीको डेब्यू निर्देशन कस्तो रह्यो ?

उ मेरै छोरा हो । टेक्निकल ज्ञानको कुरामा एकदमै धनी छ । हाम्रो फिल्म यस्तो बन्छ भनेर उसले हाम्रो फिल्मलाई कम्युटरमा पूरै डिजाइन गरेर हामीलाई देखाएको थियो । सुटिङअगावै नै हामीले फिल्म हेरिसकेका थियौँ । उसले एकदमै राम्रो काम गरेको छ ।

अनि आफ्नै छोराले एक्सन भनेपछि आफूले अभिनय गर्दा कस्तो लाग्यो  ?

छोरोको एक्सनमा अझ भनौं निर्देशनमा आफूले काम गर्न पाउँदाको क्षण साँच्चै रमाइलो हुने रहेछ । मनैदेखि आनन्द लाग्दोरहेछ । 

चलचित्रको रिलिज मिति नजिक आइसक्यो, कस्तो तयारी गर्दै हुनुहन्छ ?

हाम्रा सबै कामहरु पूरा भैसकेका छन् । भीएफएक्स पनि सकियो । इडिटिङ, मिक्सिङको काम सकियो । पोस्टर बनाउन पनि दिइसकेका छौँ । हामीले गर्ने भनेको उन्नाइस गतेसम्म मात्र हो बीस गते पछि त हामीले दर्शकहरुको प्रतिक्रिया सुन्ने हो । ‘दालभात तरकारी’ मा अनुभवी कलाकारले अभिनय गर्नुभएको छ । हामीले मह सञ्चारको ब्यानरबाट चलचित्र निमार्ण गरेका छौं । चलचित्र हेरेर दर्शक खुशी हुनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । 

‘दालभात तरकारी’ सबैले हेर्न मिल्ने चलचित्र हो ?

घरमा सबैजनासँगै बसेर दालभात तरकारी खान मिलेजस्तै, चलचित्र ‘दालभात तरकारी’ बच्चादेखि बुढा सबैले हेर्न मिल्छ, परिवारसँगै बसेर मजाले हेर्न सकिन्छ ।

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया