एसियाली देशबीच जलमार्ग सञ्जाल निर्माण गर्न नेपालको प्रस्ताव

 वैशाख २०, २०७६ शुक्रबार ११:५८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले एसियाली देशबीच हवाई मार्ग र जलमार्ग सञ्जालको विकास तथा भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको छ । 

यी देशबीचको सहकार्य अझ बढी प्रभावकारी र उपयोगी बनाउन जलसञ्जालमा जोडिनुपर्ने प्रस्ताव नेपालको छ । कतारको दोहामा जेठ १८ र १९ गते आयोजित एसिया को–अपरेशन डायलग (एडीसी) को १६ औं मन्त्रिस्तरीय बैठकमा सहभागी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नतेले एसिया महाद्वीपका सबै देशलाई एउटै मञ्चमा आवद्ध गरी समग्र एसियाको विकासमा सदस्य राष्ट्रहरुबीच सहकार्य तथा एकता प्रबर्द्धन गर्नुपर्ने बतानउनुभयो ।

मन्त्री बस्नेतले सदस्य राष्ट्रहरुमा हितका विविध पक्षहरुको प्रबर्द्धन गर्दै क्षेत्रीय सहयोग एवं व्यापार, पर्यटन, एवं लगानी प्रबर्द्धका साथै जनस्तरको सम्बन्ध विस्तारमा समेत पारस्परिक सहकार्यका पक्षमा नेपाल रहेकामा जोड दिनुभयो । यस्तै उहाँले जलवायु परिवर्तनको असरले साना तथा अल्पविकसित देशहरुमा आइपरेको जोखिम एवं प्राकृतिक विपत्तिजस्ता समस्याहरुको दीर्घकालीन समाधानका लागि सबै एसियाली देश एकजुट हुुनुपर्ने विचारसमेत व्यक्त गर्नुभयो । 

मन्त्री बस्नेतले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण निर्माण भएकाले लगानी भित्र्याउन अपिलसमेत गर्नुभयो । नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक कानूनी तथा संस्थागत सुधार गरिएकाले एसिया क्षेत्रका लगानीकर्तालाई नेपालमा ऊर्जा, पर्यटन, यातायात पूर्वाधार, कृषि, वन पैदावार, तथा सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न अपिल गर्नुभयो । मन्त्री बस्नेतले सरकारले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले नेपालको भ्रमणमा आउन पनि एसियाली देशका नागरिलाई अपिल गर्नुभयो ।

बैठकले दोहा घोषणापत्र जारी गर्दै  दिगो विकास तथा शान्ति, कनेक्टिभिटी, व्यापार तथा पारवहन सहजीकरण, पर्यटन प्रबर्द्धन, जलवायु परिवर्तनका असर न्यूनिकरण तथा प्राकृतिक विपद व्यवस्थापन, साइबर सुरक्षा, आतंकवाद नियन्त्रणविरुद्धको सहकार्य, स्वास्थ्य तथा खेलकुद क्षेत्रको विकासजस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका महत्वपूर्ण विषयहरुमा सहकार्यको घोषणा गरेको छ । एसिया महाद्वीपका देशबीच एउटै मञ्चमा आबद्ध भई विभिन्न विषयमा सहकार्यका लागि  सन् २००२ मा एसीडी गठन भएको हो । त्यस मञ्चमा नेपाल सन् २०१६ मा सदस्य बनेको थियो । मञ्चमा एसियाका ३४ राष्ट्र सदस्य छन् । 

नेपाली मजदुरका समस्याबारे चासो 

बैठकपछि बुधबार साँझ मन्त्री बस्नेत नेपाली दूतावासले आयोजना गरेको नेपाली समुदायसँगको अन्तरक्रियामा सहभागी हुनुभयो । त्यस क्रममा उहाँले नेपाली मजदुरका अवस्था एवं उनीहरुका हकहितका विषयमा छलफल गनुभयो ।

त्यस क्रममा नेपालका लागि कतारका राजदूत तथा कर्मचारीहरुसँग नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध, दूतावासको सेवाप्रवाहको अवस्था एवं नेपाली श्रमिकहरुका सरोकारका विविध विषयमा मन्त्री बस्नेतलाई जानकारी दिइएको थियो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया