संघीय संसद् भवन झकिझकाउ पारियो

 बैशाख २०, २०७६ शुक्रबार ११:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर- रासस

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार अपरान्ह आर्थिक वर्ष २०७६–७७ को सरकारको नीति तथा कार्यक्रम  प्रस्तुत हुने कार्यक्रम तय भएपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन झकिझकाउ पारिएको छ । 

संघीय संसदको चारैतिर राष्ट्रिय झण्डासहित फूलमालाले झिलिमिली पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीति तथा कार्यक्रम पेस हुन लागेको हो । नीति तथा कार्यक्रम अनुमोदन भएपछि मात्र बजेट पूर्वको छलफल हुने सचिवालयले जनाएको छ । बजेट पूर्वको छलफलअघि नै नीति तथा कार्यक्रम ल्याइन लागेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने असन्तुष्टि जनाएको छ । बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको सघीय संसद सचिवालयले जनाएको छ ।

छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया सुरु हुनेछ । यो वर्ष पनि सरकारले प्रदेश र स्थानीय तहले सम्पन्न गर्नुपर्ने आयोजनाको वित्तीय सुनिश्चिततासहित सम्बन्धित तहलाई थप हस्तान्तरण गर्ने नीति लिएको छ ।

चालु  आर्थिक वर्षदेखि पहिलोपटक यस्ता आयोजना क्रमशः हस्तान्तरण गर्दै लैजाने नीति लिएको थियो । यो पटक नीति तथा कार्यक्रम पेस भएपछि मात्र बजेट पूर्वको छलफल प्रारम्भ हुनेछ ।

संघीय संसद् सचिवालयको तयारी अनुसार ढिलामा पनि वैशाख ३१ सम्म बजेट पूर्वको छलफल सकिनेछ । बजेट प्रस्तुत र बजेट पूर्वको छलफलको अवधि कम्तीमा १५ दिन हुनुपर्ने व्यवस्था छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया