घरघरमा दीपावली गर्दै गणतन्त्र दिवस मनाइने, टुँडिखेलमा सेनाकाे हेलिकप्टरले पुष्प वृष्टि गर्ने

 वैशाख २३, २०७६ सोमबार १८:४४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले जेठ १५ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवस भव्य रुपमा मनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेकाे छ ।  

गणतन्त्र दिवसलाई नागरिकको उत्सवको रुपमा मनाउने गरी दिवसको कार्यक्रम सार्वजनिक गरिएको प्रधानमन्त्री ओलीले बताउनु भयो । उहाँले नागरिकको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको प्रणाली भएकाले त्यसलाई नागरिकस्तरमै मनाउने गरी तयारी गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत समेत गराउनु भयो ।

कार्यक्रमअनुसार गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते काठमाण्डौको टुँडिखेलस्थित सैनिक मंचमा विशेष कार्यक्रम आयोजना गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने कार्यक्रममा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।

कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस–२०७६’ लेखिएको ब्यानर प्रर्दशन गर्दै पुष्प वृष्टि गर्ने कार्यक्रम रहेको पनि गृह सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्काउटले मार्च पास गर्ने, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका तथा काठमाडौं उपत्यकाका अन्य नगरपालिकाहरुले पनि सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । १५ गते साँझ दिपावली गरेर गणतन्त्र दिवस भव्य रुपमा मनाइने छ ।  

गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते सबै तहको सरकारले आफ्ना कार्यालयहरुमा राष्ट्रिय झण्डा र ब्यानर सजाई नगरको सफाइ र श्रृंगार गर्नुपर्नेछ । त्यसैगरी दिवसकै अवसरमा आम नागरिकलाई घरघरमा सरसफाई र साँझ दिपावली गर्न अनुरोध गर्ने कार्यक्रम पनि तय गरिएको गृह सचिव राईले बताउनु भयो ।

जेठ १६ गते सबै जिल्लाहरुमा वृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइने गणतन्त्र दिवस–२०७६ को कार्यक्रममा उल्लेख गरिएको छ ।

गृह सचिव राईले गणतन्त्र दिवसको अवसर पारेर विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दूतावासहरुमा गणतन्त्र दिवस विविध कार्यक्रमसहित जेठ १४, १५ र १६ गते तीन दिनसम्म भव्य रुपमा मनाउने र साँझ दिपावली गर्ने कार्यक्रम समेत रहेको बताउनु भयो ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया