प्रदेश र स्थानीय सरकार स्वतन्त्र होइन, केन्द्र मातहत नै हो : प्रधानमन्त्री

 बैशाख २४, २०७६ मंगलबार १५:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय सरकार स्वतन्त्र नभई केन्द्र मातहतमै रहेको बताउनुभयो । 

संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय सरकार संघीय सरकारकै मातहतमै हुने भन्दै त्यसमा धेरै नअल्मलिन आग्रह गर्नुभयो ।

‘मैले हिजो सुन्दै थिएँ केही माननीयहरुले भन्दै हुनुहुन्यो प्रदेश सरकार केन्द्रको मातहत हो कि जस्तो व्यवहार भएको छ भनेर’, उहाँले भन्नुभयो, ‘प्रदेश मात्रै होइन स्थानीय सरकार पनि केन्द्र सरकारकै मातहत हो ।’

संघीय सरकारको मातहतमै संघीय कानुनको मातहतमै प्रदेश सरकार र स्थानीय सरकारहरु हुने भन्दै त्यसमा धेरै नअल्मलिन उहाँले आग्रह गर्नुभयो । 

‘यो पनि कुनै अनौठो कुरा हो र भन्या ?,’ उहाँले भन्नुभयो, ‘प्रदेश र स्थानीय सरकार स्वतन्त्र सरकार त होइनन् नि । ती त संघीय सरकारकै मातहतमा हो । यस्ता कुराहरुमा अल्मलिरहनु हुँदैन ।’ 

प्रदेश र स्थानीय सरकारले के कति काम गर्ने भन्ने अभ्यास स्थापित गर्नुपर्ने भन्दै उहाँले त्यस तर्फ सरकार गम्भीर रहेको बताउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले विगतमा भएको भ्रष्टाचारको छानबिन अहिले आफ्नो सरकारले गरिरहेको पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार बनेपछि खुला मञ्च मास्या हो र ? अहिले त्यो खुलामञ्चलाई फिर्ता ल्याउने काम हुँदैछ । अहिले बालुवाटारको जमिनको समस्या पैदा भएको हो ? अहिले त छानविन हुदैछ । वाईडवडीको कारोबार अहिलेको सरकार आएर गर्या हो र ? तर त्यसको छानबिन पो अहिले हुँदैछ ।’

सरकारले एक वर्षका लागि मात्रै नभई दूरगामी दृष्टिका साथ नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । राष्ट्रलाई सम्मृद्ध बनाउन संविधानले सुम्पेको अभिभारा अनुसार सामाजिक न्याय र समानताको बाटो नीति तथा कार्यक्रमले तय गरेको दाबी गर्नुभयो । 

विगतमा पनि बहुमतका सरकार भएको तर स्थिरता र स्थायित्व नभएको भन्दै उहाँले शान्ति र स्थायित्वलाई बुझेको वर्तमान सरकारले नीतिगत स्पष्टता, अग्रगामी सोच र अठोटसहितको स्थिरता र स्थायीत्वका कुरा नीति तथा कार्यक्रममा ल्याएको दाबी गुर्नभयो ।  

पृथकतावाद अन्त्य भएको, शान्ति सुव्यवस्था कायम भएको, सामाजिक सुरक्षा, रोजगारीका अवसर श्रृजना गर्ने, विकास निर्माण लगायत सवालमा थुप्रै युगान्तकारी कामहरु भएको भन्दै उहाँले चालु आर्थिक वर्ष सबै कोणबाट आधार वर्षको रुपमा रहेको उहाँले उल्लेख गर्नुभयो ।  

कम्बोडिया, भियतनाम भ्रमणबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया र भियतनाम भ्रमणबारे संघीय संसदलाई जानकारी गराउनुभएको छ । 

संघीय संसदको प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूले यही वैशाख २६ गतेदेखि कम्बोडिया र भियतनामको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराउनुभएको हो ।

उहाँले जेठ १ गतेसम्म हुने आफ्नो औपचारिक भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुको साथै नेपालको पर्यटन प्रबर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास आफूले लिएको बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया