यसकारण भयाे संसदमा प्रधानमन्त्री र प्रतिपक्षबीच भनाभन

 वैशाख २४, २०७६ मंगलबार १६:५०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नलाई आक्रोश, कुण्ठा र निम्छराको संज्ञा दिएपछि प्रतिनिधिसभाको मंगलबारको बैठक केहीबेर तनावपूर्ण बन्यो । 

नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले 'आक्रोश, कुण्डा र निम्छरा प्रश्नको जवाफ नदिइ अन्यको दिन्छु' भनेपछि नेपाली कांग्रेसका सांसदहरुले उभिएर नियमापत्ति गरेका थिए । उनीहरुले सभामुखको ध्यानाकर्षण गराउदै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरे ।

कांग्रेसका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराउँदै गर्दा प्रधामन्त्रीले प्रतिरोधको शैलीमा प्रश्नको सीमा र मर्यादा हुन्छ भनेपछि स्थिति थप तनावपूर्ण बनेको थियो । त्यसपछि संसदमा सत्तापक्ष सांसद, प्रतिपक्षी सांसद र रोष्ट्रमबाट प्रधानमन्त्रीको भनाभन नै चल्यो । कांग्रेस सांसदहरुले संसदीय मर्यादालाई कायम गर्न निरन्तर सभामुखको ध्यानाकर्षण गराइरहे पनि सभामुखले त्यसबारे केही निर्णय गर्नुभएन ।

विपक्षी दलका सांसदको नाराबाजीबीच प्रधानमन्त्रीले आफ्नो जवाफ सिध्याउनुभएको थियो ।

विरोध चलिरहेकै बेला संशाेधनकर्ताको तर्फबाट बोल्ने समय पाएका नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सभामुखले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आक्रोश पोख्नुभयो ।  

उहाँले भन्नुभयो, ‘सभामुख महोदय, संसदको गरिमा आज कायम गर्न सक्नुभएन । सभामुख महोदय, यसरी संसद चल्दैन । गरिमा कायम गर्न सक्नुभएन । यसरी संविधानको पालना हुदैन भनेर आशंका व्यक्त गरेर संसोधन दर्ता गरायौ । प्रधानमन्त्रीबाट गरिमा कायम भएन । सभामुखले त्यो काम गराउन सक्नुभएन । दुखका साथ भन्नुपर्छ यो भन्दा नराम्रो काम संसदीय अभ्यासमा हुन सक्दैन । सभामुख महोदय, यसरी संसदको गरिमालाई तल नपार्नुहोस् । संसदीय अभ्यासलाई कमजोर नबनाउनुहोस् । एउटा व्यक्तिको प्रतिष्ठाका लागि संसद झुक्नुपर्ने ? नागरिक झुक्नुपर्ने । यो लोकतन्त्र होइन । यो संविधान होइन । त्यही आंशकाबाट संसोधन राख्या हो ।’

सांसदहरुको नाराबाजीका बीच सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि परेका संशाेधन प्रस्तावहरुको प्रक्रिया अघि बढाउनुभयो । विपक्षी दलका सांसदले नाराबाजी गर्दै गर्दा सभामुखले बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषाण गर्नुभयो । साथै उहाँले वैशाख २७ गते देखि बजेट पूर्वको विनियोजन विधेयकको सिद्धान्त र प्राथकिताका बारेमा छलफल हुने जानकारी पनि गराउनुभयो । अर्को बैठक २७ गते शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।  

प्रधानमन्त्रीको जवाफमा सांसदहरु प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, पुष्पा भुसाल गौतम, सुजाता परियार, गगन कुमार थापा, दिलेन्द्र प्रसाद बडू, पार्वता डिसी चौधरी, डिला संग्रौला पन्त, हिरा गुरुङ, राजेन्द्र कुमार केसी, संञ्जय गौतम, देवेन्द्रराज कँडेल, शरद सिंह भण्डारी, अनिल कुमार झा, उमा रेग्मी, डाक्टर मिनेन्द्र रिजाल, लक्ष्मी परियार, ज्ञानेन्द्र बहादुर कार्की, प्रमिला राई, मिन बहादुर विश्वकर्मा, मिना पाण्डे, तेजुलाल चौधरी, अमरेश कुमार सिंह, प्रकाश रसाईली स्नेही, राम बहादुर विष्ट, दुर्गा पौडेल, महेन्द्र राय यादवले प्रतिप्रश्न गर्नुभएको थियो ।  

सांसदहरुले महाकाली नदीमा कुन कुन तुइन कहिले विस्थापित भए? एनसेलसँग कर उठाउने कि नउठाउने ? संविधान संसोधन गर्न तयार पनि भन्ने अनि संशाेधनका लागि तयार पनि नहुने, बोल्ने एक थरी गर्ने अर्कोथरी किन? भनी प्रश्न सोधेका थिए ।

पुष्पा भुसाल गौतमले निर्मला पन्तका अपराधी कहिले जेल जाने ? भनी प्रश्न गर्नुभयो ।

दिलेन्द्र प्रसाद बडूले महाकालीमा दार्चुलाको लाली र तिग्डम झोलुङ्गे पुल द्वन्द्व समाप्त हुनेबित्तिकै सुरु गरेर सम्पन्न भएका बाहेक अन्य भएको जनकारी गराउन माग गर्नुभयो ।

डाक्टर मिनेन्द्र रिजालले संविधानले राष्ट्रपतिको मातहत नेपाल सरकार नराखेको तथा संविधानले प्रदेशलाई संघ मातहत नराखेको भन्दै त्यसबारे जवाफ माग गर्नुभयो ।  

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया