उत्कृष्ट पुनरागमन गर्दै लिभरपुल फाइनलमा, बार्सिलोना पराजित

 बैशाख २५, २०७६ बुधबार ६:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्मकै उत्कृष्ट ‘कमब्याक’ गर्दै लिभरपुल फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा तीन–शून्यले पछि परेको लिभरपुलले घरेलु मैदानमा बार्सिलोनालाई चार–शून्यले हराउँदै समग्रमा चार–तीन गोल अन्तरले फाइनलमा पुग्न सफल भयो । 

लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्ने क्रममा लिभरपुलले घरेलु मैदान एनफिल्डमा ऐतिहासिक कमब्याक गर्न सफल भयो । बार्सिलोनाको घरेलु मैदानमा तीन शून्यको हार ब्यहोरेको लिभरपुल दोस्रो लेगमा कमब्याक गर्न सक्छ भन्ने झिनो आशा रहेको थियो । तर बार्सिलोना १९८६ पछि युरोपियन प्रतियोगितामा यति ठूलो हारपछि बाहिरिन बाध्य भयो । 

मुख्य खेलाडी मोहम्मद सलाह र फेरमिन्हो नहुँदा दबाबमा रहेको लिभरपुलको जितमा ओरिगी र विग्नाल्डमले दुई–दुई गोल गरे । खेलको सातौं मिनेटमा ओरिगीको गोलमा लिभरपुलले खेलमा अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा झन उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।

२ मिनेट भित्र लिभरपुलका लागि विज्नाल्डमले २ गोल गर्दै खेल समग्रमा तीन तीनको अवस्थामा पुर्‍याए । उनले खेलको ५४ औं र ५६ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि ७९ औं मिनेटमा ओरिगीले ब्यक्तिगत दोस्रो गोल गरेपछि एनफिल्डमा उपस्थित सबै समर्थकमा खुशीको सीमा थिएन ।

त्यसपछि बार्सिलोना खेलमा फर्कन सकेन र स्तब्ध बन्यो । लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले पनि यो जित अविश्वसनीय रहेको प्रतिक्रिया दिएका छन् ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया