भियतनामसँग केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने

 बैशाख २५, २०७६ बुधबार ७:११:४८ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा यही वैशाख र जेठमा ती देशको भ्रमण गर्दै हुनुुहुन्छ । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ मा हुने औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेशनल एसेम्बेलीका अध्यक्षसँग भेट गर्नुहुनेछ । भियतनामी प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज पनि आयोजना गर्नुहुनेछ  ।

भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्नुहुनेछ । दुवै देशले द्विपक्षीय सम्बन्धलाई अझ प्रवर्द्धन गर्न केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ ।

त्यस्तै कम्बोडियाको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ । औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक रात्रिभोज आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वाचित र निजी क्षेत्रका प्रतिनिधि एवं सञ्चारकर्मी रहनुहुनेछ । प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डल आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया