जिल्ला प्रहरी कार्यालय काभ्रेले पायो नयाँ भवन

 वैशाख २५, २०७६ बुधबार १८:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे – २०७२ सालको भूकम्पमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले नयाँ भवन पाएको छ । 

नेपाल प्रहरीको नियमित बजेट तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा ६ करोड ८४ लाख २० हजार ८ सय ३४ रुपैयाँ लागतमा बनेको जिल्ला प्रहरी कार्यालय काभ्रेको ५ वटा नयाँ भवन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गर्नुभयो ।  

जिल्ला प्रहरी कार्यालयको १७ रोपनी २ आना क्षेत्रफल भित्र बनेको भवनहरुमा हिरासत कक्ष, महिला प्रहरी ब्यारेक, पुरुष प्रहरी ब्यारेक, सिनियर अफिसर आवास तथा मेस भवन बनेको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भवनहरु बनेसँगै हिरासत कक्षमा कोचिएर बस्नुपर्ने बाध्यताबाट जिल्ला प्रहरी कार्यालय मुक्ति भएको छ ।

थुनुवाहरुको चाप र सुरक्षालाई ध्यान दिँदै बनेको हिरासत भवनमा दुई तलामा ८ कोठाहरु र त्यसमा महिला थुनुवालाई छुट्टै थुन्न मिल्ने भवन बनाइएको छ । जिल्ला प्रहरी प्रमुख रविराज खड्काका अनुसार प्रहरी जनशक्तिको आवास सुविधाका लागि ६ वटा हल भएको ८० जना प्रहरी जनशक्ति रहन सक्ने तीनतले ब्यारेक भवन निर्माण भएको छ । त्यस्तै सिनियर अधिकृत आवासको लागि ८ कोठा रहेको दुई तले भवन र जुनियर प्रहरी अधिकृत तथा जवानहरुको लागि मेस भवन समेत निर्माण भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

भूकम्पीय जोखिमलाई न्यूनिकरण हुनेगरी डिजाइन तथा निर्माण भएको भवन सिनर्जी घिसिङ ब्राइट जेभी कोटेश्वर ३५ले बनाएको हो । कार्यक्रममा भवन उद्घाटनसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हिरासत कक्षलाई सुधार केन्द्रको रुपमा विकास गर्दै लैजाने जानकारी दिनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धब केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, नेपाल प्रहरीका ३ नम्बर प्रदेश प्रमुख दिपक थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनालगायतले प्रहरीका काम, कारबाही तथा नयाँ बनेको भवनबारे चर्चा गर्नुभएको थियो । 


 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया