प्रधानमन्त्री ओलीलाई ठण्डा दिमागले साेच्न कांग्रेस उपसभापति निधिकाे आग्रह

 वैशाख २६, २०७६ बिहीबार १८:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पदको मर्यादालाई कायम राख्न नसकेको दाबी गरेको छ । 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफ्नै पदको मर्यादा र गरिमालाई समेत कायम राख्न नसकेको प्रतिक्रिया दिनु भएको हो ।

बिहीबार पार्टीको राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्री ओलीका हालसम्मका अभिव्यक्ति, वक्तव्य, अन्तर्वार्ता सबैलाई हेर्ने हो भने त्यसमा आम नागरिकलाई, संसदलाई र आफ्नै पार्टीका कार्यकर्तालाई समेत अपमान गरेको दाबी गर्नु भयो ।

उपसभापति निधिले प्रधानमन्त्री ओलीले संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठकमा गत २४ गते मंगलबार दिनु भएको अभिव्यक्ति संसदीय मर्यादा विपरित रहेको उल्लेख गर्दै आपत्ति पनि जनाउनुभयो । उहाँले प्रधानमन्त्रीको गैरसंसदीय भाषा डिलिट गर्ने संसारभरको चलनलाई सभामुखले कार्यान्वयनमा नल्याएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

उपसभापति निधिले प्रधानमन्त्री ओलीलाई आफूले प्रधानमन्त्रीको रुपमा दिएको अभिव्यक्ति मर्यादित भए/नभएको ठण्डा दिमागले सोच्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गत वैशाख २४ गते मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि गरिएको पुरक प्रश्नको जवाफ दिने क्रममा ‘निम्छरो’ प्रश्न सोधेको टिप्पणी गर्नु भएको थियो । प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा गैर संसदीय भाषा प्रयोग गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली का‌ंग्रेसले आपत्ति जनाउँदै आएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया