मन्त्रिपरिषद बैठक : नेपाल र भियतनाम सरकारबीच हवाई सम्झौता गर्ने

 वैशाख २६, २०७६ बिहीबार १९:१०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीको पदावधि थप गरेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यक्ति नियुक्त नहुँदासम्मका लागि कार्कीको पदावधि थप गर्ने निर्णय गरेको हो । 

गएको शुक्रबार र सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिनुभएको हो । 

यस्तै विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई पाँच वर्षका लागि निशुल्क अध्ययन भिसा कोटा उपलब्ध गराउने निर्णय पनि गरेको छ । 

यस्तै वित्त व्यवस्थापनको क्षेत्रमा नीतिगत सुधारका लागि बजेट सहायताको रुपमा विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त भएको १० लाख अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।  

यसै गरी प्रधानमन्त्रीको भियतनाम भ्रमणका क्रममा नेपाल र भियतनाम सरकारबीच हवाई सम्झौता गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आजै भियतनाम पुग्नुभएको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

१. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा नीतिगत सुधारको क्रममा बजेट सहायताको रूपमा प्राप्त हुने दोस्रो कार्यक्रमगत ऋण सहायता एक सय मिलियन अमेरिकी डलर बराबरको रकम स्वीकार गर्ने निर्णय गरिएको छ ।

२. संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत पदमा अर्को व्यक्ति नियुक्त नभएसम्मका लागि वर्तमान राजदूत डा. अर्जुनकुमार कार्कीको कार्यावधि थप गरिएको छ । 

३. नुवाकोटको रातमाटे, धादिङ, चितवन, तनहुँ, मकवानपुर र नवलपरासीको बर्दघाटसम्मको विभिन्न स्थानको करिब १४४० हेक्टर जग्गा ४०० के.भी. प्रशारण लाईन तथा सबस्टेशन निर्माण गर्ने प्रयोजनका लागि प्राप्त गर्ने निर्णय गरिएको छ ।

४. विद्युत नियमन आयोगको अध्यक्ष पदमा श्री दिल्लीबहादुर सिंह तथा सदस्य पदमा रामप्रसाद धिताल, रामकृष्ण खतिवडा, रामेश्वरप्रसाद कलवार र भागीरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।      

५. अध्यागमन नियमावली, २०५१ को नियम ४६ बमोजिम अनुसूची ९ र अनुसूची १२ हेरफेर गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

६. विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई पाँच वर्षका लागि एक भिसा वर्षमा तोकिएको भन्दा बढी कार्यरत नहुने गरी निःशुल्क अध्ययन भिसा कोटा उपलब्ध गराउने निर्णय गरिएको छ । 

७. विगतमा सडक विभागबाट सञ्चालनमा रहेका सम्भावित रणनीतिक सडकमा समावेश लोकसञ्चार मार्ग (जिलिङ–सिमखेत–केउरिनी–कुमरी–झ्याङ्गलेपोखरी–आचार्य पोखरी–धार्के–नुवाकोट–धादिङ) सडक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत ल्याई सञ्चालन गर्ने निर्णय गरिएको छ । 

८. हेटौडा–ढल्केबर–दुहवी ४०० के.भी. प्रसारण लाइन आयोजना (दोस्रो खण्ड) को राइट अफ वेभित्र विभिन्न सामुदायिक वनसहितको राष्ट्रिय वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका थप ८९९ वटा रुखविरुवाहरू हटाउन स्वीकृति दिइएको छ । 

९. नेपाल र भियतनाम सरकारबीच हुने हवाइ सेवा सम्झौतामा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिइएको छ ।


 

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया