सुर्खेतका आचार्यको कसले किन गर्‍यो हत्या ? प्रहरी भन्छ : अनुसन्धान गर्दैछौँ

 वैशाख २७, २०७६ शुक्रबार ८:३६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगर–१ का चन्द्रप्रसाद आचार्यको शव फेला परेको दुई महिनाभन्दा बढी समय बितिसक्यो । तर अहिलेसम्म पनि मृत्युको कारण खुल्न सकेको छैन । गएको फागुन १८ गते राति वीरेन्द्रनगर–६ बुद्धपथमा आचार्यको शव भेटिएको थियो । सडक किनारमा बेवारिसे अवस्थामा शव फेला परे पनि कसले किन हत्या गरेको हो भन्ने खुल्न सकेको छैन । 

पोष्टमार्टमपछि परिवारले शव बुझेर दाहसंस्कार गरे । तर प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन सकेको छैन । मृतकका परिवारले भने आचार्यको हत्या गरिएको भन्दै हत्यारालाई पत्ता लगाएर कारबाही गर्न माग गर्दै आएका छन् । ‘घटना भएको दुई महिना भन्दा बढी बितिसक्यो मृतककी छोरी संगीता आचार्यले भन्नुभयो ‘मेरो बुबाको हत्या कसले गर्‍यो, किन गर्‍यो भन्ने कुरा बाहिर आउन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेका छौँ, दोषी पत्ता लगाउँछौँ मात्र भन्छ, तर रिजल्ट देखाउँदैन ।’

वीरेन्द्रनगर–६ जुम्ला रोडमा चियानास्ता पसल गर्दै आएका आचार्य गएको फागुन १८ गते दिउँसो ३ बजेतिर बाङगेसिमलबाट श्रीमतीलाई पसलमा पठाएर नागरिकता लिएर आउँछु भनेर घर हिँड्नुभएको थियो । 

त्यसपछि राति १० बजे प्रहरीले उहाँको शव बजारमा भेटेको हो । ‘मलाई पसल पठाएर आफू नागरिकता लिन जाने भन्दै घर जानुभयो । त्यसपछि फोन पनि भएन । हामीले बिहान सात बजेतिर मात्र खबर पायाैँ’ मृतककी श्रीमती हरिकला आचार्यले भन्नुभयो, ‘अहिलेसम्म केही पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान गरिरहेका छौँ भन्छन्, तर हत्यारा पत्ता लगाउन नसक्दा हामीलाई थप पीडा भएको छ ।’

पोष्टमार्टम रिपोर्ट अनुसार आचार्यको टाउकोमा गहिरो चोट थियो । पोष्टमार्टम रिर्पोटमा ७ वटा करङ भाँचिएको, एउटा हात भाँचिएको र शरीरमा निलडाम देखिए भनेर उल्लेख गरिएको मृतककी छोरी संगिताले बताउनुभयो ।  

आफ्नो बुवाको निर्ममतापूर्वक हत्या हुँदा पनि प्रहरीले हत्यारा पत्ता नलागाउँदा प्रहरीमाथि नै विश्वास कमजोर हुँदै गएको छोरी संगिताको भनाइ छ । उहाँले प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गरेको उहाँले आरोप लगाउनुभयो । ‘मेरो बुबाको निर्ममतापुर्वक हत्या भएको छ । तर आजसम्म हत्यारा पत्ता नलाग्दा हामी पीडित परिवारको प्रहरीमाथि विश्वास घट्दै गएको छ’ उहाँले भन्नुभयो, ‘कानुन र प्रशासनलाई  एउटा समान्य मानिसको मृत्युले प्रभाव नपारेको अनुभूति भएको छ ।’ उहाँले छिटो भन्दा छिटो दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । 

प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले घटनाको गम्भीरताका साथ अनुसन्धान गरिरहेको बताउनुभयो । ‘हामीले अनुसन्धान गरिरहेका छौँ । सीआईबीको टोली र प्रदेश प्रहरीको टोलीसँग समन्वय गरेर अनुसन्धान भइरहेको छ’ उहाँले भन्नुभयो, ‘हामी दोषी को हो भनेर पत्ता लगाएर नै छोड्छौँ । छिटै दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउँछौँ ।’
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया