सरकारी जग्गा संरक्षण गर्न शक्तिशाली आयोग गठन हुँदै

 बैशाख २७, २०७६ शुक्रबार २०:३१:४९ | उषा तामाङ
unn.prixa.net

दाेलखा - देशभरको सरकारी जग्गा संरक्षण गर्न शक्तिशाली आयोग गठन कार्य अघि बढेको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बताउनुभएको छ ।

नापी कार्यालय दोलखाको नवनिर्मित भवनकाे शुक्रबार उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । देशभर सरकारी जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेको भन्दै सरकारले अब शक्तिशाली आयोग गठन कार्य अघि बढाएको र सरकारको जमिन सरकारकै नाममा फिर्ता ल्याउने मन्त्री अर्यालको भनाइ छ ।

आयोग गठन भएपछि छिट्टै नै सरकारी जग्गा मिचेको गुनासो आइरहेका स्थानमा पुगेर निरीक्षण गर्ने र अनुसन्धान गरी मिचिएको जग्गा सरकारको नाममा ल्याउने अभियानका साथ अघि बढेको उहाँको भनाइ छ । सरकारको यो कदमलाई साथ दिन मन्त्री अर्यालले सबैलाई आव्हान गर्नुभएको छ ।

मन्त्री अर्यालले केही कर्मचारीका कारण मालपोत तथा नापी कार्यालयको छबि बिग्रिएको भन्दै सेवाग्राही खुशी हुने किसिमले सेवा प्रवाह गर्न कर्मचारीलाई अनुरोध गर्नुभयो । सेवा लिन पाउनु सेवाग्राहीको अधिकार भएकोले सेवाग्राहीबाट गुनासो नआउने गरी कार्य गर्न मन्त्री अर्यालले बताउनुभयो ।

कार्यालयमा सुशासन कायम गर्न अनलाइन पद्धति लागु गरिएकाे र यो पद्धतिलाई देशभर विस्तार गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया