भाडा दर समायोजन गर्न ट्याक्सी व्यवसायी तथा चालकहरुकाे सरकारलाई दबाब

 बैशाख २७, २०७६ शुक्रबार १९:१५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ट्याक्सी व्यवसायी तथा चालकहरुले ट्याक्सीको भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिन सुरु गरेका छन् । 

उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा ७ वर्षयता यति धेरै मूल्य वृद्धि हुँदा पनि सरकारले टयाक्सीको भाडा दर समायोजन नगरेको भन्दै आपत्ति पनि जनाउनु भयो । महासचिव मोक्तानले ट्याक्सी चालकहरुलाई प्रशिक्षण दिने व्यवस्था गर्न टयाक्सी व्यवसायीहरुको पनि गम्भीर ध्यानाकर्षण गराउनु भयो । टयाक्सी व्यवस्थापनका लागि पनि सरकारले उचित व्यवस्था गर्नुपर्ने पनि टयाक्सी व्यवसायी तथा चालकहरुको माग छ ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले टयाक्सीको भाडा दर समायोजनमा ढिलाइ नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले टयाक्सी व्यवसायीहरुलाई मापदण्ड भित्र रहेर मात्रै टयाक्सी सञ्चालन गर्न पनि सचेत गराउनु भयो ।

‘टयाक्सीको भाडा दर समायोजनसम्बन्धी समस्या तत्काल समाधान हुन्छ,’ महानिर्देशक दाहालले भन्नुभयाे, ‘तर टयाक्सी व्यवसायीहरुले मापदण्ड भित्र रहेर टयाक्सी सञ्चालन गरिदिनु पर्‍यो ।’

यातायात व्यवस्था विभागले टयाक्सीको वैज्ञानिक भाडा दर निर्धारण गर्न समिति नै बनाएर काम अघि बढाएको दावी गर्दै आएको छ ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्तकुमार पन्तले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो । उहाँले टयाक्सी चालक तथा व्यवसायीहरुले पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पनि स्पष्ट पार्नुभयो ।

ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा लागि परिरहेकाले उनीहरुमाथि अभद्र व्यवहार नगर्न पनि एसएसपी पन्तले सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा ‘इजि टयाक्सी नेपाल’ माेबाइल एप पनि सार्वजनिक गर्ने जानकारी दिइएको थियो । उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजले  प्रस्तुत गर्ने त्यस एपले टयाक्सी सेवालाई सहज बनाउने अपेक्षा सहभागीहरुले गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया