१३ औँ साग खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

 बैशाख ३०, २०७६ सोमबार १६:५४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले ‘१३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको छ । 

युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी ‘१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको हो ।

प्रतियोगिताको कामलाई तीव्रता दिने गरी लोगो सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिनुभयो । कलाकार भोलानाथ पौडेलले तयार पार्नु भएको त्यस लोगोमा राखिएको परेवाको आकृति र त्यसमा प्रयुक्त रंगले शान्तिलाई दर्शाउँदछ भने त्यसको पृष्ठभूमिमा राखिएको त्यसै रंगको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउँदछ । लोगोमा सार्क राष्ट्रहरुको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ । मन्त्री विश्वकर्माले त्यस प्रतियोगिताको पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको बताउनुभयो ।

सरकारले त्यस खेलकुद प्रतियोगिताका लागि झण्डै ४ अर्ब खर्च लाग्ने अनुमान पनि गरेको छ । झण्डै ४ अर्ब खर्च त्यस प्रतियोगितामा लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । त्यस बजेटको व्यवस्थापनका लागि परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाको संयोजकमा ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

सरकारले त्यस प्रतियोगिता सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशन समिति तथा मन्त्री विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिसकेको छ । त्यसअन्तर्गत रहने गरी अरु पनि विभिन्न समिति गठन गरिएको र  प्रतियोगिताको कामलाई तीव्रता दिइएको युवा तथा युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया